काठमाडौं ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य उल्लेख्य रूपमा घटाएको छ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दासमेत नेपालमा समयमै मूल्य समायोजन नभएको भन्दै उपभोक्ताबाट गुनासो बढिरहेका बेला उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले निगमका अधिकारीहरूसँग छलफल गरी मूल्य समायोजन गर्न निर्देशन दिएपछि निगमले नयाँ मूल्य लागू गरेको हो।
नेपाल आयल निगमले मंगलबार राति १२:०१ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेल तथा मट्टितेलमा ३० रुपैयाँ, आन्तरिक हवाई इन्धनमा ४० रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको जनाएको छ।
नयाँ मूल्यअनुसार तेस्रो वर्गमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल/मट्टितेल प्रतिलिटर १९५ रुपैयाँ कायम भएको छ। पहिलो र दोस्रो वर्गमा पनि सोही अनुपातमा मूल्य घटाइएको छ। आन्तरिक हवाई इन्धन प्रतिलिटर २२९ रुपैयाँ कायम गरिएको छ भने खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ निर्धारण गरिएको छ।
निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्य घटेर आएकाले स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गरिएको हो।




प्रतिक्रिया दिनुहोस्