प्रदेश र स्थानीय तहबीच राजश्व परिचालनमा सहकार्य बढाउन मुख्यमन्त्रीको जोड


काठमाडाैँ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश र स्थानीय तहबीच राजश्व परिचालन तथा सूचना आदानप्रदानमा सहकार्य र समन्वय बढाउनुपर्ने बताएका छन् । 

संघीयतालाई प्रभावकारी बनाउन प्रदेशको वित्तीय क्षमता विस्तारसँगै स्रोत परिचालन र खर्च गर्ने दक्षता अभिवृद्धि गर्न आवश्यक रहेको उनको भनाइ छ ।

राष्ट्रिय कर दिवस २०८३ को अवसरमा आन्तरिक राजश्व कार्यालय मकवानपुरले मंगलबार हेटौँडामा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री थापा मगरले संघीयता सफल बनाउन राजनीतिक अधिकारको बाँडफाँड मात्र पर्याप्त नहुने बताए ।

वित्तीय अधिकार, स्रोत परिचालनको क्षमता र सार्वजनिक खर्चको प्रभावकारिता पनि उत्तिकै महत्वपूर्ण हुने उनले उल्लेख गरे । प्रदेश र स्थानीय तह आर्थिक रूपमा सक्षम भए मात्रै संघीयताको वास्तविक लाभ नागरिकसम्म पुग्ने उनको भनाइ छ ।

प्रदेशमा रहेका उद्योग, व्यापार, पर्यटन र कृषिलगायतका सम्भावनालाई उत्पादन तथा रोजगारीसँग जोड्दै आन्तरिक राजस्वको आधार फराकिलो बनाउनुपर्नेमा उनले जोड दिए ।

मुख्यमन्त्री थापा मगरले युवालाई स्वदेशमै रोजगारी र अवसर उपलब्ध गराउनु अहिलेको प्रमुख चुनौती रहेको बताए । युवालाई विदेश नजान आग्रह गरेर मात्रै समस्या समाधान नहुने भन्दै उनले स्वदेशमै काम गर्ने, उद्यम गर्ने र सम्मानजनक आम्दानी गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने धारणा राखे ।

यसका लागि उत्पादनशील अर्थतन्त्रको विकाससँगै सूचना प्रविधि र नवप्रवर्तनका क्षेत्रमा नयाँ पुस्तालाई पर्याप्त अवसर दिनुपर्ने उनले बताए । उनले निजी क्षेत्रलाई विकासको महत्वपूर्ण साझेदारका रूपमा अघि बढाउनुपर्ने उल्लेख गर्दै उद्योगी तथा व्यवसायीलाई सम्मान, सुरक्षा र नीतिगत स्थिरताको प्रत्याभूति गराउन सरकार प्रतिबद्ध हुनुपर्ने उल्लेख गरे।

कर प्रणाली सरल, पारदर्शी, अनुमानयोग्य र लगानीमैत्री हुनुपर्नेमा जोड दिँदै उनले कर छली, राजश्व चुहावट तथा आर्थिक अनियमितताविरुद्ध भने राज्य कठोर रूपमा प्रस्तुत हुनुपर्ने धारणा राखे ।

मुख्यमन्त्री थापा मगरले डिजिटल अर्थतन्त्रको विस्तारसँगै कर प्रशासनलाई पनि आधुनिक र प्रविधिमैत्री बनाउनुपर्ने बताए । करदाताले कर तिर्न अनावश्यक झन्झट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्दै प्रशासनिक प्रक्रियालाई सरल र पारदर्शी बनाउनुपर्ने उनले उल्लेख गरे । कर कार्यालय नागरिकका लागि डर र झन्झटको केन्द्र नभई सेवा तथा सहजीकरणको केन्द्र बन्नुपर्ने उनको जोड थियो । 

बागमती प्रदेश सरकार प्रदेशको आर्थिक आधार बलियो बनाउने, राजस्व परिचालनलाई प्रभावकारी बनाउने र सार्वजनिक खर्चलाई परिणाममुखी बनाउने दिशामा प्रतिबद्ध रहेको उनले बताए । सरकारको प्राथमिकता करको अनावश्यक भार बढाउने नभई उत्पादन, रोजगारी, लगानी र आर्थिक अवसर विस्तार गरी राजस्वको दायरा फराकिलो बनाउने रहेको उनको भनाइ थियो ।

मुख्यमन्त्री थापा मगरले कर प्रणाली न्यायोचित र समावेशी हुनुपर्नेमा समेत जोड दिए । आर्थिक क्षमता बढी भएका नागरिक तथा संस्थाले आफ्नो क्षमताअनुसार बढी योगदान गर्नुपर्ने भए पनि न्युन आय भएका नागरिकमाथि अनावश्यक करको भार थोपर्न नहुने उनले बताए । करको उद्देश्य राज्यको ढुकुटी भर्नु मात्र नभई न्यायपूर्ण, समावेशी र उत्पादनमुखी अर्थतन्त्र निर्माण गर्नु पनि रहेको उनकाे भनाइ छ ।