काठमाडौँ । अर्थ मन्त्रालय मातहतका दुइओटा महत्वपूर्ण निकाय आन्तरिक राजस्व विभाग र भन्सार विभाग निमित्त प्रमुखको भरमा चलिरहेका छन् ।
आन्तरिक राजस्व विभाग निमित्तको भरमा सञ्चालन भएको २ महिनाभन्दा बढी भएको छ । भन्सार विभाग पनि निमित्तको भरमा पुगेको छ ।
आन्तरिक राजस्व विभाग वैशाख १४ गतेदेखि महानिर्देशकविहीन छ । वैशाख २२ गतेदेखि रमेश अर्याललाई निमित्तको जिम्मेवारी दिइएको थियो ।
असार १६ गतेदेखि भन्सार विभाग पनि निमित्तको भरमा छ । भन्सारका महानिर्देशक श्यामप्रसाद भण्डारीलाई तानेर भरतमणि पाण्डेलाई निमित्तको जिम्मेवारी दिइएको छ ।
भन्सार विभाग र आन्तरिक राजस्व विभाग देशको कूल राजस्व सङ्कलन गर्ने मुख्य निकाय हुन् ।
नेपाल सरकारको बजेट निर्माण, आर्थिक नीति परिचालन र विकास निर्माणका कार्यका लागि आवश्यक पर्ने स्रोत जुटाउने मुख्य जिम्मेवारी यी दुई विभागको हुन्छ ।
राजस्वको दाबाबमा परिरहेको र नयाँ बजेटले निर्धारण गरेका कर र राजस्व कार्यान्वयन गर्ने समयमा सरकारले महत्वपूर्ण दुबै निकायलाई निमित्तको भरमा छोडिदिएको छ ।
आन्तरिक र भन्सार नै प्रमुखविहीन हुँदा नयाँ आर्थिक वर्षको बजेटअनुसारको कार्ययोजना र छुट गरिएका र थप गरिएका कर तथा राजस्व शुल्क व्यवस्थापनमा समेत कठिनाइ भएको छ ।
नयाँ आर्थिक वर्ष सुरु हुन दुइहप्तामात्रै बाँकी रहँदा पनि भन्सार र राजस्वजस्ता महत्वपूर्ण ठाउँ प्रमुख विहिन छन् ।
अर्थ मन्त्रालयका प्रवक्ता अमृत लम्सालले भने निमित्तलाई पूर्ण अधिकार दिइएकाले केही परक नपर्ने दाबी गरे ।
उनले भने,“काम नरोकिने गरेर पूर्ण अधिकारसहित निमित्तलाई जिम्मेवारी दिइएको छ । महानिर्देशक नै खटाउँदा आन्तरिक राजस्व विभागको हकमा केही फरक त पथ्र्योहोला । बजेट र आर्थिक वर्षको अन्त्यतिर भएकाले पनि होला अब सहसचिव सरुवा भएर आइसकेपछि व्यवस्थापन होला ।”
अर्थ मन्त्रालयले पूर्ण अधिकार दिएको भने पनि निमित्त महानिर्देशकहरू काम गर्न हिचकिचाइरहेका छन् ।
आन्तरिक राजस्व विभागका एक अधिकारीले भने,“निमित्त प्रमुख हुँदा आर्थिक ऐनले निर्देशित गरेका विषयमा कार्ययोजना बनाएर लागु गर्ने, प्रशासकीय पुनरावलोकन गर्ने विषयका साथै बजेटमार्फत कतिपय ठाउँमा छुट भएका छन् कतिपय ठाउँमा थपिएका छन् । प्राविधिक रूपमा काम गर्न गाह्रो भएको छ ।”
पछिल्लो वातावरणका कारण पनि निमित्त महानिर्देशकहरूले दूरगामी महत्वका वा ठुला नीतिगत निर्णयहरू लिन अफ्ठेरो मान्ने गरेका छन् ।
प्रवक्ता लम्सालले पनि मनोवैज्ञानिक प्रभाव परेको हुन सक्ने बताए । उनले भने,“निमित्त महानिर्देशक मात्रै हुँदा मनोवैज्ञानिक हिसाबले केही फरक होला नत्र नियमित काम रोकिएको छैन तर यसरी नै रहँदैन चाँडै नै पूर्णता दिन्छौँ ।”


प्रतिक्रिया दिनुहोस्