गढीमाई नगरपालिकाका मेयर सहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवसहित ३ जना र एउटा कन्स्ट्रक्सन कम्पनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले रौतहटको गढीमाई नगरपालिकाको बालुवा, गिट्टी तथा ग्राभेल ठेक्कामा २ करोड ५७ लाख ६२ हजार रुपैयाँ राजस्व हिनामिना गरेको आरोपमा नगर प्रमुखसहित चार जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

आयोगका अनुसार आर्थिक वर्ष २०७६र७७ मा समनपुर नाकाको नदीजन्य पदार्थ उत्खननको ठेक्का लिएको भाग्यमणी कन्स्ट्रक्सन कम्पनीले कबोल गरेको ३ करोड २५ लाख रुपैयाँमध्ये १ करोड ९ लाख ६३ हजार रुपैयाँ मात्रै बुझाएको थियो। बाँकी रकम नतिरी झुट्टा विवरणका आधारमा सम्झौता गरी नदीजन्य पदार्थ उत्खनन तथा बिक्रीबाट गैरकानुनी लाभ लिएको आरोप छ।

आयोगले गढीमाई नगरपालिकाका नगर प्रमुख यादव, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाषकुमार ठाकुर, तत्कालीन राजस्व शाखा प्रमुख बालकिशोर राय तथा भाग्यमणी कन्स्ट्रक्सन कम्पनी र त्यसका सञ्चालक राधेश्याम साह विरुद्ध भ्रष्टाचार निवारण ऐनअन्तर्गत बिगो असुल, कैद तथा जरिवानाको मागदाबीसहित आरोपपत्र दायर गरेको जनाएको छ।