काठमाडौं । नेपालमै उपलब्ध गुणस्तरीय तथा अन्तर्राष्ट्रियस्तरको शिक्षाको प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंमा दुईदिने ‘स्टडी इन नेपाल’ शैक्षिक मेला सुरु भएको छ।
विगत ११ वर्षदेखि निरन्तर आयोजना हुँदै आएको मेलाले नेपाली शैक्षिक संस्थाले पनि अन्तर्राष्ट्रियस्तरको जनशक्ति उत्पादन गर्न सक्छन् भन्ने सन्देश प्रवाह गर्ने लक्ष्य लिएको छ।
मेलाका आयोजक भिजन मिडिया इन्कर्पोरेशन एजुकेसन डटकमका प्रबन्ध निर्देशक तारामान रावलले नेपाली शिक्षा क्षेत्रप्रति समाजमा रहेका नकारात्मक धारणा चिर्न र स्वदेशी विश्वविद्यालय तथा कलेजको क्षमता प्रदर्शन गर्न मेला प्रभावकारी माध्यम बनेको बताए।
उनका अनुसार नेपालमा हाल त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयका साथै विभिन्न विदेशी विश्वविद्यालयसँग सम्बन्धन प्राप्त शैक्षिक संस्थाले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने अन्तर्राष्ट्रियस्तरका शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका छन्।
यस वर्षको मेलामा सरकारी तथा निजी गरी ५० भन्दा बढी शिक्षण संस्थाको सहभागिता रहेको छ। काठमाडौं विश्वविद्यालयको कुसोम, शंकरदेव क्याम्पस, थापाथली इन्जिनियरिङ क्याम्पस, एनईसी इन्जिनियरिङ क्याम्पस तथा नेपाल एकेडेमी अफ टुरिजम एन्ड होटल म्यानेजमेन्ट (न्याथम) लगायतका प्रतिष्ठित शिक्षण संस्था मेलामा सहभागी छन्।
मेलामा विद्यार्थीले बायोमेडिकल इन्जिनियरिङ, एथिकल ह्याकिङ, एभिएसन, व्यवस्थापन, सूचना प्रविधि, आतिथ्य व्यवस्थापन, मानविकीलगायत २५ भन्दा बढी विषयका शैक्षिक कार्यक्रमबारे जानकारी लिन सक्नेछन्।
रावलले शिक्षालाई केवल आर्थिक उपार्जनको माध्यमका रूपमा नभई जीवनभरको लगानीका रूपमा लिन विद्यार्थी र अभिभावकलाई आग्रह गरे।
उनले भने, ‘नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा सम्भव छ भन्ने सन्देश दिन यो मेला आयोजना गरिएको हो। अध्ययन विदेशमा मात्रै गुणस्तरीय हुन्छ भन्ने धारणा परिवर्तन गर्दै विद्यार्थीलाई आफ्नो रुचि, क्षमता र भविष्यको लक्ष्यअनुसार विषय छनोट गर्न प्रेरित गर्नु हाम्रो उद्देश्य हो। शिक्षा केवल कमाइको माध्यम होइन, सीप, दक्षता र दीर्घकालीन करियर निर्माणको आधार पनि हो।’
रावलले पछिल्लो समय अध्ययनभन्दा वैदेशिक रोजगारीलाई प्राथमिकता दिने प्रवृत्ति बढेकोप्रति चिन्ता व्यक्त गर्दै नेपालमै गुणस्तरीय शिक्षा हासिल गर्न सकिने र यहाँ उत्पादन भएका जनशक्तिको बजार माग तथा पारिश्रमिक पनि प्रतिस्पर्धी रहेको बताए।
मेलामा सहभागी विद्यार्थीका लागि विशेष सहुलियतको व्यवस्था गरिएको आयोजकले जनाएको छ। भर्ना प्रक्रियामा सहभागी हुने विद्यार्थीले सम्बन्धित कलेजको शुल्कमा १५ हजारदेखि २५ हजार रुपैयाँसम्म छुट पाउनेछन्। कक्षा १२ उत्तीर्ण विद्यार्थीका लागि चलचित्रको टिकट तथा विभिन्न उपहारको समेत व्यवस्था गरिएको छ।
आयोजकका अनुसार दुई दिनसम्म सञ्चालन हुने मेलाले विद्यार्थी, अभिभावक र शैक्षिक संस्थाबीच प्रभावकारी संवादको वातावरण सिर्जना गर्दै स्वदेशी शिक्षाप्रति विश्वास अभिवृद्धि गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
– न्युज एजेन्सी नेपाल


प्रतिक्रिया दिनुहोस्