गरिबलाई नजिस्का सरकार भन्दै माईतीघरमा प्रदर्शन


काठमाडाैँ । सरकारले सुकुम्बासीमाथि दमन गरेको भन्दै काठमाडौँमा प्रदर्शन गरिएको छ । होल्डिङ सेन्टरमा पीडा सहन नसकेपछि विरोधमा उत्रिएका सुकुम्बासीहरूमाथि सरकारले बर्बर दमन गर्दै नियन्त्रणमा लिएपछि त्यसको विरोधमा आइतबार काठमाडौँको माईतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।

सरकारले गरिव सुकुम्बासीहरुमाथि समेत बर्बर दमन गरेपछि त्यसको विरोधमा प्रदर्शनमा उत्रिन बाध्य हुनुपरेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा, नेपालका कार्यवाहक अध्यक्ष नारायण परिश्रमीले बताए । उनले सरकारविरुद्ध आफूहरुले देशव्यापी आन्दोलन चर्काउने चेतावनी समेत दिए।

 कार्यवाहक अध्यक्ष परिश्रमीले भने, “पञ्चायत कालमा पनि यति साह्रो बर्बर दमन भएको थिएन गरिवहरुमाथि । यो बर्बर दमन भएको छ । अव ७० लाख सुकुम्बासीहरुले अब सहने छैनन् । यसैको विरोधमा आज हामीले भत्सर्नास्वरुप विरोध गर्नका लागि सुकुम्बासी अभियन्ता संघ, संगठन, जेन–जी मोभमेन्टका भाईबहिनीहरु, आज यो माईतीघर मण्डलामा आएका छौँ । सरकारले झन ज्यान जोखिममा पारेर बाढी नै कम्मर कम्मरमा आउने गरेर सरकारले राखेको छ । यो हो व्यवस्थापन सरकारको ? यो नामर्द सरकार हो । यो कायर सरकार । गरिवहरुसँग किन डराउनु परेको ? सक्छौ व्यवस्थापन गर सरकार । सक्दैनौ भने हामी त्यही थाँतथलोमा आएर बस्छौँ । अब हामी देशव्यापी आन्दोलन गर्दछाँै । त्यो बेला यो सरकारको आयु कति लामो हुन्छ ? गरिवलाई नजिस्का सरकार । हामी गरिवलाई जिस्क्याईस भने तेरो आयु कम हुन्छ । यो सरकारको आयु करिव सकिएको जस्तो लाग्दैछ ।”

त्यस क्रममा प्रर्दशनकारीहरुले सरकारको  दमन र गैरन्यायिक पक्राउ विरुद्ध चर्का नाराबाजी लगएका थिए । सुकुम्बासीमाथिको अन्यायको अन्त्य गर, जनताको आवाज दवाउन पाइदैँन,  गरिवमाथिको अन्याय बन्द गर, सुकुम्बासी यहाँ छ, रवि–बालेन कहाँ छ ? गरिवमारा सरकार–मुर्दावाद लेखिएको प्लेकार्ड पनि प्रदर्शनकारीहरूले प्रर्दशन गरेका थिए ।