काठमाडौँ । नेपाल टेलिकमले मुगु जिल्लाको सोरु गाउँपालिका वडा नम्बर ६ सोरुकोट र बाजुरा जिल्लाको सर्वाधिक विकट हिमाली गाउँपालिका वडा नम्बर १ बिच्छ्याको नेटा र वडा नम्बर ५ कुवाडी क्षेत्रमा फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।
कार्यक्रममा सोरु गाउँपालिकाका अध्यक्ष धर्मबहादुर शाही र उपाध्यक्ष केशरबहादुर शाहीले दुर्गम क्षेत्रमा आधुनिक दूरसञ्चार सेवा विस्तार हुनु स्थानीय नागरिकका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै सेवाको दिगो सञ्चालन, संरक्षण तथा आवश्यकता अनुसार क्षमता विस्तारका लागि गाउँपालिकाले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
बिच्छ्याको नेटामा जडान गरिएको फोरजी टावरबाट कोट, नेटा, बाम, बौडी, यौना र नातीखोला लगायतका गुम्बा सम्म अर्थात बाजुराबाट रानिसैन पुग्ने पदमार्गमा कभरेज पुगेको जनाएको छ । त्यसैगरी कुवाडी खोलाको संगममा रहेका गाउँहरू तथा हुम्ला ताँजाकोट २ जाने मार्गमा समेत यसको कभरेज पुगेको छ ।
फोरजी सेवा सञ्चालनमा आएसँगै स्थानीय बासिन्दाले उच्च गतिको मोबाइल इन्टरनेट, गुणस्तरीय भ्वाइस सेवा तथा एसएमएस सेवाको सहज लाभ लिन सक्ने भएका छन् । यसबाट स्थानीय आर्थिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुग्नुका साथै सो क्षेत्रका बासिन्दाका लागि सूचना, शिक्षा, स्वास्थ्य र सरकारी सेवामा पहुँच थप सहज हुने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्