सामसङले अमेरिकामा ठुलो सङ्ख्यामा राेजगार कटौती गर्दै


दक्षिण कोरियाली कम्पनी सामसङ इलेक्ट्रोनिक्सले अमेरिकामा ठुलो सङख्यामा राेजगार कटौती गरेको छ। यो कदम कम्पनीले आफ्नो अमेरिकी मुख्यालय टेक्सास राज्यमा सार्ने योजनासँग सम्बन्धित रहेको बताइएको छ।

सामसङ इलेक्ट्रोनिक्स अमेरिका (एसइए) जसले चिप्स बाहेक उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादनहरूको बिक्री र मार्केटिङ गर्दछ । एसइएले आफ्नो मुख्य कार्यालय न्यू जर्सीको एङ्गलवुड क्लिफ्सबाट टेक्सासको प्लानो सार्ने घोषणा गरेसँगै कर्मचारी कटौतीको प्रक्रिया अघि बढाएको हो।

कम्पनीका अनुसार न्यू जर्सीमा मात्र ७३९ जना कर्मचारीहरू यस परिवर्तनबाट प्रभावित भएका छन्। प्रभावितमध्ये अधिकांशलाई टेक्सास सरुवाको प्रस्ताव गरिएको छ भने केही कर्मचारीहरूलाई भने बर्खास्त गरिएको छ। टेक्सासको कार्यालयमा मोबाइल डिभिजनका करिब १०० कर्मचारीहरूलाई समेत बर्खास्त गरिएको जनाइएको छ।

एक वर्तमान एसइए कर्मचारीका अनुसार उपकरण, घर मनोरञ्जन तथा मोबाइल डिभिजनहरूको कर्मचारीहरूमा थप बर्खास्ती हुन सक्ने जनाइएकाे छ। किनभने कम्पनीले अब आफ्नो मुख्य स्रोत चिप उत्पादनमा केन्द्रित गर्ने रणनीति लिएको छ।

तर, सामसङले भने आफ्नो उपभोक्ता उत्पादन व्यवसायमा कुनै व्यापक विश्वव्यापी पुनर्संरचना नभइरहेको दाबी गरेको छ। कम्पनीका अनुसार मुख्यालय स्थानान्तरणको मुख्य उद्देश्य बढ्दो प्रविधि र एआइ इकोसिस्टमभित्र टोलीहरूबिच बलियो सहकार्य र संगठनलाई अनुकूलन गर्नु रहेकाे जनाएकाे छ ।

‘एक वर्ष पनि नपुग्दै नयाँ कार्यालय सारियो’

सामसङले न्यू जर्सीमा भव्य समारोहका बिच गत वर्ष सेप्टेम्बरमा मात्र नयाँ कार्यालयहरू सञ्चालनमा ल्याएको थियो। अमेरिकी प्रतिनिधि जोश गोटथाइमर स्वयं त्यस उद्घाटन समारोहमा सहभागी भएका थिए। त्यसबेला एसइए न्यू जर्सीमा करिब एक हजार २०० कर्मचारी कार्यरत रहेको जनाइएको थियो।

तर, मुख्यालय स्थानान्तरणको निर्णयले कर्मचारीहरूलाई आश्चर्यमा पारेको छ। कम्पनीले भनेको छ, “मुख्यालय स्थानान्तरणले कार्यबल संरचनामा परिवर्तन ल्याउन सक्छ, विशेष गरी सरुवा गर्न नसक्ने कर्मचारीहरूका लागि यो अपरिहार्य थियो।”

चिप डिभिजनको रेकर्ड नाफा, मोबाइलमा भने संकट

सामसङको यो जागिर कटौतीले कम्पनीभित्रको विभिन्न डिभिजनहरूको विपरीत अवस्थालाई समेत उजागर गरेको छ। कृत्रिम बौद्धिकताको बढ्दो मागका कारण कम्पनीको चिप डिभिजनले नाफा कमाइरहेको छ। गत महिना मात्र सामसङले नयाँ चिप कारखानाहरूमा सयौं अर्ब डलर लगानी गर्ने घोषणा गरेको थियो।

तर, मोबाइल डिभिजन भने अमेरिकी कम्पनी एप्पल र चिनियाँ प्रतिद्वन्द्वीहरू टीसीएल तथा हाइसेन्सको तीव्र प्रतिस्पर्धाका कारण दबाबमा छ। स्रोतहरूका अनुसार सामसङको मोबाइल डिभिजनले यस पटक आफ्नो इतिहासमै पहिलो पटक घाटा बेहोर्न सक्ने अनुमान गरिएको छ।

साथै, एआइ बूमका कारण चिपको मूल्य बढेको छ, जसले सामसङका सबै उपभोक्ता इलेक्ट्रोनिक्स उत्पादनहरू (टेलिभिजन, घरायसी उपकरण, फोन) को नाफामा समेत दबाब पारेको छ।

टेक्सासतर्फ आकर्षण

उल्लेखनीय छ, सामसङ मात्र होइन, माइक्रोसफ्ट, अमेजन, मेटा, टेस्ला र ओरेकल जस्ता विश्वका ठूला प्रविधि कम्पनीहरूले पनि आफ्नो मुख्यालय वा प्रमुख सञ्चालन टेक्सास सार्ने क्रम बढाइरहेका छन्। टेक्सास कम कर र व्यवसायमैत्री नियमहरूका लागि प्रसिद्ध छ। यो राज्य पहिले नै सामसङको चिप कारखाना र मोबाइल हबको घर पनि हो।

सन् २०२५ को अन्त्यसम्ममा सामसङ इलेक्ट्रोनिक्सका अमेरिकामा कुल ११ हजार ७७० कर्मचारी रहेको तथ्याङ्क छ, जसमा यसको चिप डिभिजनका कर्मचारीहरू पनि समावेश छन्।

त्यस्तै, सामसङको आईटी सेवा सहायक कम्पनी सामसङ एसडीएस अमेरिकाले पनि न्यू जर्सीको रिजफिल्ड पार्कमा १७९ पदहरू कटौती गर्ने सूचना दिइसकेको छ। तर सामसङले ती परिवर्तनहरू मुख्यालय स्थानान्तरणकै कारण भएको बताउँदै बर्खास्ती वा पुनर्संरचनासँग कुनै सरोकार नभएको स्पष्ट पारेको छ।