कर्णालीमा जडीबुटी निकासीबाट ४ करोडभन्दा बढी राजस्व


सुर्खेत । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट ४ करोड १७ लाख ६८ हजार ९९९ रुपैयाँ राजस्व संकलन गरेको छ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार ५८ प्रजातिका जडीबुटीबाट उक्त राजस्व संकलन भएको हो। सबैभन्दा बढी झ्याउबाट ९५ लाख ८५ हजार ४०० रुपैयाँ, जटामसीबाट ८७ लाख ८८ हजार ८७५ रुपैयाँ र यार्सागुम्बाबाट ७५ लाख ४४ हजार ३७१ रुपैयाँ राजस्व प्राप्त भएको छ।

त्यस्तै कटुकी, सेतक चिनी, टिमुर, सिलाजित, सुगन्धवाल र रिठ्ठाबाट पनि उल्लेख्य राजस्व संकलन भएको मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले जानकारी दिए।

मन्त्रालयका अनुसार उक्त आर्थिक वर्षमा २१ लाख ५८ हजार ५८२।९४५ केजी जडीबुटी संकलन भएकामा १९ लाख ४६ हजार ८७५।७०५ केजी निकासी गरिएको थियो।