काठमाडाैँ । आज साउन महिनाको पहिलो सोमबार । पशुपतिनाथसहित देशभरका शिवालयहरूमा भक्तजनको भीड छ । पशुपतिनाथमा बिहानबाटै चार वटै ढोका खोलिएका छन् ।
वैदिक सत्य सनातन हिन्दु धर्मावलम्बीहरूका लागि धार्मिक तथा सांस्कृतिक रूपमा विशेष महत्व मानिने साउनको पहिलो सोमवार आज देशभरका विभिन्न शिवालयहरूमा बिहानैदेखि भक्तजनहरूको उल्लेख्य उपस्थिति रहेको छ ।
साउन महिना र सोमवारलाई भगवान शिवको उपासनाका लागि सबैभन्दा पवित्र समय मानिन्छ । यस दिन श्रद्धालुहरूले विशेषगरी व्रत बसी भगवान शिवको पूजा–आराधना गर्ने गर्दछन् ।
काठमाडौँको पशुपतिनाथ मन्दिर, भक्तपुरको डोलेश्वर, ललितपुरको कुम्भेश्वरका साथै मुलुकभरका प्रमुख शिव मन्दिरहरूमा पूजाअर्चना गर्नेहरूको लामो लाम लागेको छ ।
धार्मिक विश्वासअनुसार साउनको सोमवार व्रत बसी शिवको पूजा गर्नाले पारिवारिक सुख, शान्ति र मनोकाङ्क्क्षा पूरा हुने जनविश्वास रहिआएको छ ।
विशेषगरी महिलाहरूले हरियो वस्त्र र श्रृङ्गारमा सजिएर श्रद्धापूर्वक यो पर्व मनाउने गर्दछन् । साउन महिनाभरि नै शिवको विशेष आराधना गर्ने परम्परा भएपनि सोमवारको दिनलाई अझ विशेष रूपमा लिइने गरिन्छ । –न्युज एजेन्सी नेपाल
अनुप प्रधान/न्युज एजेन्सी नेपाल




























प्रतिक्रिया दिनुहोस्