पुँजीबजार सुधार गर्न लगानीकर्ताका जायज माग कार्यान्वयन गर्ने प्रधानमन्त्रीको आश्वासन


काठमाडाैँ । प्रधानमन्त्री बालेन्द्र शाहले लगानीकर्ताको जायज मागहरु सम्बोधन गरी पुँजीबजार सुधार गर्ने आश्वासन दिएका छन् । सोमबार पुँजी बजारका नियामक निकाय, ब्रोकर र लगानीकर्ताका प्रतिनिधिहरूसँग छलफल गर्दै प्रधानमन्त्री साहले लगानीकर्ताको जायज माग सम्बोधन गर्न सरकार तयार रहेको बताएका हुन् ।

सरकारले पुँजीबजार सुधारका लागि उठाइएका जायज माग कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको प्रधानमन्त्री साहसँगको भेटपछि स्टक ब्रोकर एशोसिएशन अफ नेपालका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको पुँजी बजार फोरमका सभापति प्रियराज रेग्मीले जानकारी दिए ।

उनकाअनुसार प्रधानमन्त्री शाहसँग बजारलाई सन्तुलित बनाउन संस्थागत लगानीकर्ताको भुमिका विस्तार, कर प्रणालीमा सुधार, ब्रोकरमार्फत मार्जिन लेन्डिङ सञ्चालनका लागि आवश्यक नियामकीय व्यवस्था, गैरआवासीय नेपाली (एनआरएन)लाई छिटो पुँजीबजारमा प्रवेश गराउने व्यवस्था तथा स्टक एक्सचेन्जको पुनर्संरचना गरी प्रविधिमैत्री बनाउने विषयमा छलफल भएको थियो ।

आइपिओ प्रणालीमा सुधार गर्दै १० कित्ते नीति हटाएर योग्य संस्थागत लगानीकर्तामार्फत बुक बिल्डिङ प्रक्रियालाई प्राथमिकता दिनुपर्ने, इन्ट्राडे कारोबार शुरु गरी बजारको तरलता र कारोबार परिमाण बढाउनुपर्ने लगायतको माग आफूहरुले राखेको उनले जानकारी दिए । लगानीकर्ताको घाटा समायोजनको व्यवस्था गरेर मात्रै सेयर बजारमा कर लगाउने प्रणाली लागू गर्न पनि आग्रह गरेको बताए ।

पूर्वअध्यक्ष रेग्मीकाअनुसार प्रधानमन्त्री शाहले यी सबै विषय गम्भीरतापूर्वक लिएका छन् । नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, स्टक एक्सचेन्ज, सीडीएसलगायत नियामक तथा बजार सञ्चालक निकायसँग छलफल गरेर आवश्यक सुधार गर्ने प्रतिवद्धता प्रधानमन्त्री शाहले जनाउनु भएकाे उनले जानकारी दिए ।  

नियामक निकायका प्रमुखहरूले पनि छलफलमा पुँजी बजारमा सुधार आवश्यक रहेको विषयमा सहमति जनाएकोले आफूहरुको माग सम्बोधन हुनेमा आशावादी रहेको पूर्वअध्यक्ष रेग्मीले बताए । प्रधानमन्त्री साहले लगानीकर्तालाई अनावश्यक त्रासमा नपरी ढुक्क भएर लगानीका गतिविधि अघि बढाउन आग्रह गरेको उनले जानकारी दिए ।

प्रधानमन्त्री साहले पुँजी बजारले रोजगारी सिर्जना र राजश्व वृद्धि गर्नुपर्नेमा जोड दिएका थिए । प्रधानमन्त्रीको सक्रियताप्रति आफूहरू उत्साहित रहेको र पुँजीबजारमा देखिएका समस्याहरु समाधान हनेमा विश्वस्त रहेको लगानीकर्ताहरुको भनाइ छ ।