काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पार्टी र सरकारको सम्बन्धबारे आफ्नो मुख खोलेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका अर्थमन्त्री वाग्लेले सरकारमा सहभागि भएपछि पहिलो पटक पार्टी र प्रधानमन्त्री तथा मन्त्रीहरूबिचको सम्बन्धबारे धारणा राखेका हुन् ।
गतहप्तामात्रै सरकार र पार्टीको शक्ति सन्तुलनबारे पार्टी सभापति रवि लामिछानेसँग गम्भीर छलफल गरेर फर्किपछि वाग्लेले प्रधानमन्त्री र मन्त्रीहरू राजनीतिक दल र नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन् ।
आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा सबै मन्त्रालयका सचिवहरूसँग सोमबार भएको छलफलमा बोल्दै अर्थमन्त्री डा. वाग्लेले ‘प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्म सबै नेपाली जनता, राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन् ।
पछिल्लो समय रास्वपाभित्र सरकार र पार्टीबिच सन्तुलन नमिलेको विश्लषण भइरहँदा उपसभापति एवं अर्थमन्त्री वाग्लेको यो धारणा आएको हो । वालेन रास्वपाका वरिष्ठ नेता हुन् भने वाग्ले उपसभापति हुन् । पार्टीभित्र वरियताका हिसाबले वालेन दोस्रो र वाग्ले तेस्रोमा छन् ।
वाग्लेले छलफलका क्रममा भनेका छन्,“ सम्माननीय प्रधानमन्त्रीज्यू, हामी सबै मन्त्रीहरू यसमा वी आर हेल्ड एकाउन्टेबल बाई नेपाली जनता, बाई आवर पार्टी एन्ड बाई आवर रेस्पेक्टिभ लिडरसिप एज वेल भन्ने कुरामा हामी एकदमै कडाका साथ अगाडि जानुपर्ने छ ।”
पार्टी उपसभापति एवं अर्थमन्त्री वाग्लेलाई गतहप्तामात्रै सभापति लामिछानेले पार्टी र सरकारबिचको शक्ति सन्तुलन जसरी पनि मिलाउने भनेर सम्झाएका छन् । वाग्लेले भने यसरी सरकार र पार्टी नचल्ने टिप्पणी गरेका थिए ।
काभ्रेपलाञ्चोकको धुलिखेलस्थित ‘दुसित थानी’ रिसोर्टमा केही दिनअघि मात्रै पार्टी सभापति लामिछाने र उपसभापति वाग्लेबिच अर्थपूर्ण भेटवार्ता भएको थियो ।
काभ्रेबाट फर्केपछि अर्थमन्त्री वाग्लेले बजेट कार्यान्वयनका विषयमा छलफल सुरु गरेका छन् ।
प्रधानमन्त्री वालेनले भने उद्योगि व्यवसायीलाई भेट्ने क्रम जारी छ । भेटघाटमा अर्थमन्त्रीलाई बोलाउने गरिएको छैन ।
पार्टी र सरकारबिच तालमेल नमिलिरहेका बेला उपसभापति वाग्लेले दल र नेतृत्वप्रति प्रधानमन्त्री तथा मन्त्री उत्तरदायी हुनुपर्ने धारणा सार्वजनिक गरेका छन् । वाग्लेले दलप्रतिमात्रै भनेका छैनन् नेतृत्वप्रतिसमेत भनेर उल्लेख गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्