काठमाडाैँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने स्पष्ट पारेका छन् ।
मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनका क्रममा सञ्चारमन्त्रीहरूसँग कुरा गर्दै मन्त्री यादवले वैदेशिक रोजगारलाई तत्काल रोक्न नसकिने बताएका हुन् ।
उनले विश्वव्यापीकरणको वर्तमान युगमा वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्न सम्भव नरहेकाले यसलाई सुरक्षित बनाउनेतर्फ सरकार केन्द्रित भएको स्पष्ट पारे ।
मन्त्री यादवले श्रमिकहरू शोषणमा नपरून्, उचित पारिश्रमिक पाउनुका साथै आधारभूत जीवनस्तर र सेवा सुविधाहरू सुनिश्चित होस् भन्ने उद्देश्यले युरोपेली मुलुकहरूसँग श्रम सम्झौताका लागि पहल भइरहेको जानकारी दिए ।
वैदेशिक रोजगारलाई तत्काल रोक्नु उचित नहुने पनि उनले बताए । वैदेशिक रोजगारीलाई व्यवस्थित र मर्यादित बनाउन सरकारले युरोपेली मुलुकजस्ता सुरक्षित र उच्च प्रतिफल दिने नयाँ गन्तव्यहरूको खोजी गरिरहेको उल्लेख गरे ।
आन्तरिक श्रम बजारमा रहेका समस्या समाधानका लागि पनि मन्त्रालयले नयाँ योजना अघि सारेको उहाँले बताउनु भयो । देशभित्रै कार्यरत श्रमिकहरूले उचित पारिश्रमिक नपाउने र श्रम शोषणमा पर्ने गरेको गुनासो सम्बोधन गर्न श्रम विभागले छिट्टै अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने मन्त्री यादवको भनाइ छ । यस प्रणालीको कार्यान्वयनसँगै श्रमिकहरूले साना कामका लागि पनि भौतिक रूपमा श्रम कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास गरिएको छ ।
मन्त्री यादवले विगतमा कानून कार्यान्वयनको पक्ष फितलो देखिएका कारण ठगी गर्नेहरूको मनोबल बढेको स्वीकार गर्दै उनले अबका दिनमा सरकार निर्मम रूपमा प्रश्तुत हुने बताए । जनताले चाँडो नतिजा खोजेको महशुस गर्दै मन्त्रालयले परिणाममुखी काम गर्न तीव्र गतिमा प्रयास गरिरहेको उनको दाबी छ । वैदेशिक रोजगार क्षेत्रलाई पारदर्शी र मर्यादित बनाउने कार्यमा सबै क्षेत्रबाट सहयोगको अपेक्षा समेत मन्त्री यादवले गरे ।


प्रतिक्रिया दिनुहोस्