काठमाडाैँ । विद्युतीय तथा इलेक्ट्रोनिक (ई एन्ड ई) उत्पादनहरूको विश्वव्यापी मागमा आएको उच्च वृद्धिका कारण सन् २०२६ को पहिलो ६ महिनामा मलेसियाको निर्यात अघिल्लो वर्षको तुलनामा २७.५ प्रतिशतले बढेको छ ।
मलेसियाको लगानी, व्यापार तथा उद्योग मन्त्रालय (एमआईटीआई) ले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस वर्षको पहिलो ६ महिनामा कुल ९७१.५९ अर्ब रिंगिट (करिब २३७.५८ अर्ब अमेरिकी डलर) बराबरको निर्यात भएको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा ई एन्ड ई उत्पादनहरूको निर्यात मूल्यमा मात्रै करिब १४० अर्ब रिंगिटको वृद्धि देखिएको उल्लेख छ ।
विश्वव्यापी बजारमा प्रविधिको विकास र डिजिटल प्रविधिको बढ्दो प्रयोगका कारण मलेसियाको निर्मित वस्तुहरूको निर्यातमा यो सकारात्मक प्रभाव देखिएको हो । ई एन्ड ई बाहेक पेट्रोलियम उत्पादन, अप्टिकल र वैज्ञानिक उपकरण तथा धातुजन्य उत्पादनको निर्यातमा पनि उल्लेख्य सुधार आएको छ ।
यस्तै, खानीजन्य क्षेत्रतर्फ धातुजन्य धाउ, धातुका टुक्रा र तरल प्राकृतिक ग्यासको निर्यातले पनि समग्र विस्तारमा योगदान पु¥याएको छ । बजारको हिसावले मलेसियाका प्रमुख व्यापारिक साझेदारहरू आसियान मुलुकहरू, चीन, संयुक्त राज्य अमेरिका र युरोपेली संघबाट हुने मागमा वृद्धि भएको छ ।
यसैगरी, हङकङ, दक्षिण कोरिया, मेक्सिको, भारत, अस्ट्रेलिया, बेलायत, जापान, पाकिस्तान, क्यानडा र न्युजिल्यान्ड जस्ता मुक्त व्यापार सम्झौता भएका मुलुकहरूतर्फको निर्यात पनि विस्तार भएको मन्त्रालयले जनाएको छ ।
समीक्षा अवधिमा मलेसियाको कुल व्यापार २२.४ प्रतिशतले वृद्धि भई १.८ ट्रिलियन रिंगिट पुगेको छ । यसैगरी, आयात १६.९ प्रतिशतले बढेर ८२४.४४ अर्ब रिंगिट पुगेको छ, जसका कारण मलेसियाले १४७.१५ अर्ब रिंगिटको व्यापार बचत कायम गर्न सफल भएको छ ।


प्रतिक्रिया दिनुहोस्