काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले जलवायु परिवर्तनको विषयलाई मुलुकको विकासको मुख्य एजेण्डा बनाउनुपर्ने बताएका छन् ।
वीपी कोईरालाको स्मृति दिवसका अवसरमा बुधवार ललितपुरमा आयोजित ‘जलवायु परिवर्तन र वीपीको विचार’ विषयक छलफल कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
सभापति थापाले वीपी कोईरालाले तत्कालीन समयमा ‘समावेशी’ शब्दको प्रयोग नगरे पनि व्यवहारतः त्यसको सफल अभ्यास गरेको स्मरण गरे । विकासको अवधारणाबारे चर्चा गर्दै उहाँले सामाजिक न्याय, मानव कल्याण र नैतिक जिम्मेवारी विनाको विकास अर्थहीन हुने उल्लेख गरे ।
वीपी कोईरालाले धेरै वर्षअघि नै वनको राष्ट्रियकरण र प्राकृतिक स्रोतमाथि न्यायपूर्ण पहुँचको विषय उठाएको स्मरण गर्दै थापाले ती दूरदर्शी विचारहरूलाई वर्तमान समयमा पनि आत्मसात गर्नुपर्ने बताए ।
पार्टीको आगामी कार्यदिशाबारे प्रष्ट पार्दै सभापति थापाले आजको नेपाली काँग्रेस भविष्यप्रति आशावादी रहेको तर भविष्यको मार्ग कोर्न इतिहासबाट सिक्न जरुरी रहेको बताए । अग्रजहरूले देखाएको बाटो र उहाँहरूका विचारलाई आधार मानेर जलवायु परिवर्तनको मुद्दालाई विकासको मूल प्रवाहमा जोड्न प्रतिवद्ध रहेको बताए ।
सभापति थापाले प्राप्त सुझाव र ज्ञानलाई पार्टीले नीतिगत तहमा उपयोग गर्दै लैजाने समेत प्रतिवद्धता जनाए ।


प्रतिक्रिया दिनुहोस्