काठमाडाैँ । नेपाल राष्ट्र बैंकले २०८० सालमा आउन पेपल पेपललाई आग्रह गर्यो ।
विश्वव्यापीरूपमा ४५ प्रतिशत बजार हिस्सा रहेको पेपलबाट विश्वभर विद्युतीय वित्तीय कारोबार गर्न सकिने कम्पनीलाई आग्रह गर्दा आउन मानेन ।
तेस्रो पक्षमार्फत नेपालमा पेपल सञ्चालन गर्नको लागि प्रस्ताव गरिएकाे थियाे । अनुमतिपत्र र नियमन गर्ने भएकोले राष्ट्र बैंकले सोझै प्रस्ताव नगरेर तेस्रो पक्षमार्फत प्रस्ताव लगिएको थियो । यद्दपी बजार सानाे भएकाे बहानामा पेपलआउन नमानेकाे राष्ट्र बैंकका अधिकारी बताउछन् । नेपालमा डलर काराेबार सहज नभएकाले पनि पेपलले चासाे नदेखाएकाे हुनसक्ने अनुमान छ ।
उपभोक्ता, व्यवसाय र व्यापारीहरू सबैले अनलाइन वा विभिन्न मार्ट, पसलहरूमा पनि यसको माध्यमबाट भुक्तानी गर्न सकिन्छ । पेपलले नेपालमा सेवा विस्तार गरेर सहज हुने जानकारहरूले बताउने गरेका छन् । यसले गर्दा विशेषगरी फ्रिल्यान्सरहरूलाइ सहज बनाउँछ ।
नेपालमा भने भिसा, मास्टर कार्ड, युनियन पे जस्ता कम्पनीहरूले कार्डको सेवा दिइरहेका छन् । भिसा नेपालले नेपालमा कार्यालय नै खोलेर सेवा दिइरहेको छ ।
भिसा र मास्टरकार्ड दुवै विश्वका सबैभन्दा ठुला भुक्तानी नेटवर्क कम्पनी हुन् । यी कम्पनीले बैंकहरूले जारी गर्ने डेबिट र क्रेडिट कार्डहरूलाई कारोबार गर्न पनि सहज हुन्छ ।
भिसा, युनियन पे र मास्टरकार्ड यी आफैँ बैंक नभई यिनीहरूले त्यसको पछाडिको नेटवर्क वा ट्र्याक उपलब्ध गराउँछन् जसमार्फत भुक्तानी गर्न सकिन्छ ।
यी मार्फत बैंकहरूले जारी गरेका कार्डको भुक्तानी सुरक्षित र छिटो गर्न सकिन्छ । भिसाले प्रमुख कार्ड ब्रान्डहरूको क्रेडिट, डेबिट र प्रिपेड खरिद कारोबारमा विश्वव्यापी रूपमा झण्डै ३८ प्रतिशत र मास्टर कार्डको हिस्सा ३२ प्रतिशत छ ।
भुक्तानी सेवा कम्पनी पेपलले भने नेपालमा बजार नदेखेर सेवाको लागि नेपाल आउनको लागि तयार भएन । नेपाल राष्ट्र बैंकका एक उच्च अधिकारीका अनुसार पेपलले नेपाल सानो बजार भएकोले फाइदा नहुने भन्दै नेपालमा सेवा दिनको लागि अस्विकार गरेको थियो ।
पछिल्लो समय गुगल पे, एप्पल पे जस्ता कम्पनीहरूले पनि आक्रामकरूपमा बजार विस्तार गरिरहेका छन् । नेपालमा भने यस्ता अन्तर्राष्ट्रिय भुक्तानी सेवा प्रदायक कम्पनीहरू आउन मानेका छैनन् ।
नासआइटीका अध्यक्ष गौरव पाण्डेले नेपालमा आउँदा कम्प्लाइन्स लागत नै बढी लाग्ने भएकोले यस्ता कम्पनीहरू आउन इच्छुक नहुने बताउँछन् ।
उनले भने, “नेपाल जस्तो देशमा कार्यालय खोलेर आउन चाहँदैनन् । कार्यालय खोलेपछि लागत बढी लाग्ने र आउन नचाहेको हुनसक्छ ।”
पेपल जस्ता कम्पनीहरूलाई सरकारले इन्सेन्टिभ दिएर समेत ल्याउन पहल गर्नुपर्ने पाण्डेले बताए ।
यसको कारोबार विश्वव्यापीरूपमा हुने भएकाले पनि विश्वभरका फ्रिल्यान्सिङ गर्नेहरूको लागि कारोबार गर्न सहज हुन्छ ।
विश्वव्यापीरूपमा फ्रिल्यान्सरहरूले सबैभन्दा बढी पेपलको प्रयोग गर्ने गरेका छन् । २०० बढी देश र २५ मुद्रा स्वीकार गर्ने पेपलले फ्रिल्यान्सिङ गर्ने ४७ प्रतिशत फ्रिल्यान्सरहरूले भुक्तानीको लागि लागि प्रयोग गर्ने गरेका छन् ।
नेपालमा पुँजी खाता खुला नभएका कारण यस्ता कम्पनी आउन इच्छुक नभएको हुनसक्ने राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए । नेपालबाट पैसा लैजान पनि समस्या हुने भएपछि यस्ता कम्पनीहरू नेपाल आउन अनिच्छुक देखिएका हुन् ।
एक भुक्तानी प्रणाली सञ्चालकका प्रमुख कार्यकारी अधिकृतले सरकारले पेपल, स्ट्राइप जस्ता कम्पनीहरूलाई नेपालमा ल्याउन पहल गरिरहेको हुन सक्ने बताउँछन् ।
“यस्ता कम्पनीहरू राष्ट्र बैंकबाट लाइसेन्स लिएर नै सेवा दिने हो । यस्ता ठुला संस्थाहरूले बजार र व्यापार पनि हेर्छन् । तर नेपालमा त्यो समस्या होइन जस्तो लाग्छ । नेपालमा डिजिटल कारोबार बढ्दो अवस्थामा छ,” उनले भने ।
अहिले क्रिप्टोकरेन्सीबाट पनि फ्रिल्यान्सरहरूको भुक्तानी हुने गरेको छ जसमा ८ प्रतिशत क्रिप्टोकरेन्सीबाट भुक्तानी हुने गरेको छ ।
विश्वव्यापीरूपमा सहज कारोबार गर्न सकिने पेपल नेपालमा आउँदा सहज हुने भएपनि सेवा दिनको लागि अस्वीकार गर्दा असहज हुने गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्