अख्तियारलाई राजनीतिक हस्तक्षेपमुक्त बनाउन संविधान संशोधन गर्न काँग्रेस तयारः गगन थापा


काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शक्तिशाली र राजनीतिक हस्तक्षेपमुक्त बनाउन आफ्नो पार्टी संविधान संशोधन गर्न समेत तयार रहेको बताएका छन् । 

४४ औँ वीपी स्मृति दिवसको अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । सभापति थापाले वर्तमान सरकारले संविधानको पालना गरे÷नगरेको विषयमा प्रश्न उठाउँदै प्रधानमन्त्री समेत संविधानको परिधिभित्र रहनुपर्नेमा जोड दिए ।

भ्रष्टाचार नियन्त्रणका लागि स्थापित अख्तियार दुरुपयोग अनुसन्धान आयोग एक शक्तिशाली निकाय भएपनि पछिल्लो समय संवैधानिक संस्थाहरू प्रभावकारी हुन नसकेको उनको टिप्पणी छ ।

सरकार वा मन्त्रीहरूले बदनियतपूर्वक गर्ने गैरकानूनी कामको छानबिन गर्ने संवैधानिक जिम्मेवारी अख्तियारको भएको उल्लेख गर्दै उनले संस्थाहरूलाई पङ्गु बनाइनु चिन्ताजनक रहेको बताए । थापाले अख्तियारको क्षमता अभिवृद्धि र संरचनागत सुधारका लागि नेपाली काँग्रेसले पूर्ण सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । 

सभापति थापाले भने, “हाम्रो प्रश्न स्पष्ट छ, नेपालको वर्तमान सरकारले संविधान मान्छ कि मान्दैन ? हामी सबै संविधानको पालना गर्न प्रतिवद्ध छौँ । त्यसैले अहिलेको प्रधानमन्त्री पनि संविधानको दायराभित्र हुनुहुन्छ कि हुनुहुन्न भन्ने प्रश्न उठेको छ । संविधानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्तो शक्तिशाली संवैधानिक निकायको व्यवस्था गरेको छ । प्रधानमन्त्री, मन्त्री वा अन्य सार्वजनिक पदाधिकारीले बदनियतपूर्वक गैरकानुनी काम गरेमा त्यसको अनुसन्धान गर्ने अधिकार अख्तियारलाई छ । त्यसैले गल्ती भएमा अख्तियारले निष्पक्ष छानबिन गर्छ भन्ने विश्वास नागरिकमा हुनुपर्छ । तर कतिपय अवस्थामा संवैधानिक संस्थाहरू प्रभावकारी रूपमा काम गर्न नसकेको अनुभव भएको छ । त्यसैले नेपाली कांग्रेसको तर्फबाट हामीले स्पष्ट रूपमा भनेका छौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई अझ सक्षम, प्रभावकारी र स्वतन्त्र बनाउन आवश्यक परे यसको संरचनागत सुधार गर्न हामी तयार छौँ । यदि त्यसका लागि संविधान संशोधन गर्नुपर्छ भने त्यसबारे पनि छलफल गर्न तयार छौँ । आवश्यक परे आयोगका पदाधिकारीको संख्या बढाउने विषयमा पनि हामी खुला छौँ । हाम्रो उद्देश्य राजनीतिक प्रभाव र हस्तक्षेपबाट मुक्त, सक्षम र प्रभावकारी अख्तियार निर्माण गर्नु हो ।”

सभापति थापाले राजनीतिक दलको प्रभावबाट मुक्त र स्वायत्त संवैधानिक निकाय निर्माण नै काँग्रेसको मुख्य चाहना रहेको स्पष्ट पारे ।