देशभर मनसुनी वायुको प्रभाव कायमै



काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले कोशी प्रदेशको तराई भागमा मुख्यतया मौसम सफा रहे पनि बाँकी भागमा सामान्यदेखि पूर्ण बदली रहेको महाशाखाको भनाई छ ।

कोशी, बागमती र कर्णाली प्रदेशका केही स्थान तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षा भइरहेको छ । दिउँसो देशका हिमाली र पहाडी भागमा सामान्यदेखि पूर्ण बदली तथा तराईमा आंशिक बदली रहने र केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका तराईका केही स्थान कोशी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा पनि मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुन सक्ने पूर्वानुमान छ ।

दिउँसो बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

प्रतिकूल मौसमका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायातसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन तथा विभागका पछिल्ला मौसमसम्बन्धी सूचनामा अद्यावधिक रहन महाशाखाले अनुरोध गरेको छ।