सन् २००९ पछि पहिलोपटक सिरिया पुगेका संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसद्वारा पुनर्निर्माणमा सहयोगको प्रतिवद्धता


संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले शनिवार सिरियाको राजधानी दमास्कसको औपचारिक भ्रमण गरेका छन् । सन् २००९ यता संयुक्त राष्ट्र संघका कुनैपनि महासचिवले सिरिया भ्रमण गरेको यो पहिलो अवसर हो ।

यस ऐतिहासिक भ्रमणका क्रममा उहाँले सिरियाको पुनरुत्थान र पुनर्निर्माणका लागि राष्ट्र संघको निरन्तर सहयोग रहने प्रतिवद्धता व्यक्त गरेका छन् । सिरियाका विदेश प्रमुख असाद अल–शैबानीसँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुटेरेसले सिरियाली जनताको साहसको प्रशंसा गरे । 

उनले भने, “सिरियाली जनताले धेरै वर्षसम्म ठूलो कष्ट झेलेका छन्, तैपनि उनीहरूले आफ्नो सहनशीलता, रचनात्मकता र देशप्रतिको अपनत्व गुमाएका छैनन् ।”

महासचिव गुटेरेसले गम्भीर द्वन्द्वबाट बाहिर निस्किरहेको कुनैपनि राष्ट्रले एक्लै पुनर्निर्माणको कार्य पूरा गर्न नसक्ने उल्लेख गर्दै सिरियालाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई आह्वान गरे । सोही क्रममा उनले इजरायलद्वारा कब्जा गरिएको गोलान हाइट्स सिरियाली भूभाग भएको राष्ट्र संघको अडान पुनः दोहो¥याए र सिरियाको सार्वभौमसत्ता उल्लङ्घन गर्ने कार्य अन्त्य हुनुपर्नेमा जोड दिए ।

विदेश प्रमुख अल–शैबानीले महासचिवको यस भ्रमणलाई संयुक्त राष्ट्र संघ र सिरियाबीचको सम्बन्धमा एउटा नयाँ चरणको सुरुवात भएको बताए ।

उनले भने, “अहिले हाम्रो प्राथमिकता पुनर्निर्माण हो र त्यसका लागि बाँकी रहेका सबै प्रतिवन्धहरू हटाइनु आवश्यक छ ।”

सिरिया अब मानवीय राहतको चरणबाट माथि उठेर दिगो विकासको दिशामा अघि बढ्न केन्द्रित रहेको उनले स्पष्ट पारे । विदेश प्रमुख शैबानीले हालसम्म ३५ लाख सिरियाली शरणार्थीहरू स्वदेश फर्किसकेको जानकारी समेत दिए ।

दमास्कसमा रहँदा महासचिव गुटेरेसले सिरियाका अन्तरिम नेता अहमद अल–शरासँग पनि द्विपक्षीय वार्ता गरेका थिए ।