काठमाडाैँ । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले भारत र बंगलादेश नेपालसँग विद्युत खरिद गर्न आतुर भएपनि नेपालले उत्पादन बढाउन नसकेको बताएका छन् ।
आइतबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले मागअनुसार नेपालले विद्युत उत्पादन गर्न नसकेको बताएका हुन् । नेपालले करिव ८७ प्रतिशत वस्तु आयात र १३ प्रतिशत मात्र निर्यात गर्ने गरेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी बन्न विद्युत उत्पादनमा वृद्धि गरि निर्यातमा ध्यान दिनुपर्ने बताए ।
उनकाअनुसार बंगलादेशले ठूलो परिमाणमा नेपालसंग विद्युतको अपेक्षा गरिरहेको छ । भारतलाई पनि स्वच्छ ऊर्जाको आवश्यकता रहेकाले विद्युत निर्यातको पर्याप्त सम्भावना रहेको उनले बताए । तर नेपालमा विद्युत उत्पादन विस्तारको गति अत्यन्त सुस्त रहेको उनको भनाइ छ ।
अध्यक्ष यादवले विगतमा सुरक्षा तथा रणनीतिक कारण देखाउँदै भारतले चिनियाँ लगानीमा उत्पादित नेपाली विद्युत खरिदमा अनिच्छा देखाएपनि अहिले त्यो परिस्थिति नरहेको बताए । उनले चीन–भारतबिच व्यापार र लगानी विस्तार भइरहेकाले नेपालले कूटनीतिक पहल बढाएमा विद्युत निर्यातमा देखिएका अवरोध हट्न उल्लेख गरे ।
उनले नेपालको बढ्दो व्यापार घाटा कम गर्ने सबैभन्दा प्रभावकारी उपाय नै जलस्रोतको उपयोगमार्फत विद्युत उत्पादन र यसको व्यापार रहेको बताए । विद्युत उत्पादनसँगै सिंचाई र खानेपानी क्षेत्रमा पनि जलस्रोतको प्रभावकारी उपयोग गर्नसके नेपाललाई अल्पविकसित मुलुकबाट विकासशील राष्ट्रतर्फ अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने उनको दाबी छ ।
उनले चुरे संरक्षणमा जोड दिन पनि सरकारसँग आग्रह गरे । चुरे क्षेत्रमा भएको दोहन र वन फँडानीले जलस्रोतमा समस्या देखिएको बताए । पछिल्लो समयमा जलवायू परिवर्तन र चुरे विनासको कारण हिमालमा हिउँ नहुने तथा तराईमा सुख्खापन हुँदा खानेपानी, सिँचाई, उर्जा लगायतका क्षेत्रमा ठूलो असर परिरहेको उनको भनाइ छ । उनले चुरे संरक्षण गर्नै राज्यले ध्यान नदिएको पनि गुनासो गरे ।


प्रतिक्रिया दिनुहोस्