न्यून गुणस्तरको खाद्य बिक्री गरेको आरोपमा चार उद्योगविरुद्ध मुद्धा दर्ता


काठमाडौँ । चितवनमा न्यून गुणस्तरका खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा चार वटा खाद्य उद्योगविरुद्ध पाँच वटा मुद्दा दर्ता गरिएको छ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले ती उद्योगविरुद्ध जिल्ला प्रशासन कार्यालय चितवनमा मुद्दा दर्ता गरेको हो।

पूर्वी चितवनको रत्ननगरस्थित रिजाल फुड्स एन्ड बेभरेज विरुद्ध मात्रै दुई वटा मुद्दा दर्ता गरिएको छ भने अन्य तीन उद्योगविरुद्ध एक÷एक वटा मुद्दा दर्ता गरिएको कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार रिजाल फुड्सले उत्पादन गर्ने दालमोठ र नमकिन मिक्सचर (दालमोठ) को गुणस्तर न्यून पाइएपछि कानुनी कारबाही अघि बढाइएको हो।

त्यस्तै, खैरहनीस्थित ओमकार आयल इन्डष्ट्रिज विरुद्ध आयातित तोरीको गेडाबाट उत्पादन गरिएको तोरीको तेलको गुणस्तर कमजोर भएको भन्दै मुद्दा दर्ता गरिएको छ ।

यसैगरी, भरतपुरस्थित नौलो फुड्स इन्डष्ट्रिज ले उत्पादन गर्ने सिटिसी चिया असलाको गुणस्तर तथा रत्ननगरस्थित आचार्य फुड उद्योगले उत्पादन गर्ने चुक अमिलोको गुणस्तर कमजोर देखिएपछि ती उद्योगविरुद्ध पनि मुद्दा दर्ता गरिएको छ।

कार्यालयले कारबाहीमा परेका उद्योगविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ अनुसार जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता गरेको जनाएको छ।