सुनसरी घटनाका विषयमा छलफल गर्न रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक


काठमाडौँ । सुनसरीको कप्तानगञ्जमा दुईपक्षबिच झडप नरोकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।

सुनसरी घटनालगायत विषयमा छलफल गर्न सभापति लामिछानेले बुधबार विहान ८ बजे सिंहदरबारमा सर्वदलीय बैठक आह्वान गरेको महामन्त्री विपिन आचार्यले जनाएका छन् । छलफल विहान ८ बजे लेखा समितिको बैठक कक्षमा हुने छ ।

छलफलमा संसदमा रहेका सबैे दलसहित मधेश केन्द्रित दलका नेता उपेन्द्र यादव, महन्थ ठाकुर, सीके राउत नेतृत्वको पार्टीलाई आमन्त्रण गरिएको छ।

सभापति लामिछानेको सचिवालयले भनेको छ,“सबै दललाई पत्राचार गरिएको छ। सभापतिज्यूले नेताहरूलाई आफैं फोन गरेर पनि आमन्त्रण गर्नु भएको छ ।”

अत्यन्तै संवेदनशील र दुःखद घटना भएको भन्दै सभापति लामिछानेले त्यसले निम्त्याएको असहज अवस्थामा सामाजिक रुपमा फैलन सक्ने द्वेष न्यूनीकरण गरि सद्भाव र शान्ति सुरक्षा कायम गर्न प्रशासनिक प्रयास जारी रहँदा राजनीतिक रुपमा पनि सामुहिक सन्देश र अपीलको आवश्यकताबोध भएकाले छलफल आयोजना गरेको उल्लेख गरेका छन् ।

सुनसरीको कप्तानगञ्ज दुईदिनदेखि अशान्त छ । जिल्लाको धेरैजसो भूभागमा आजरातिदेखि कफ्र्यु आदेश जारी गरिएको छ ।