काठमाडाैँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करका दरमा सुधार गर्न तथा आयात महशुल घटाउन सरकार सकारात्मक रहेको बताएका छन् ।
मंगलबार अर्थ मन्त्रालयमा उद्योगीहरूसँगको छलफलमा उहाँले निजी क्षेत्रलाई चलायमान बनाउन कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करमा आवश्यक सुधार गर्न सरकार तयार रहेको बताएका हुन् ।
छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चन्द्र ढकालले अर्थमन्त्री वाग्लेले उद्योगी व्यवसायीले पूर्वाधार तथा बैंकिङ क्षेत्रसँग सम्बन्धित समस्याहरू समाधान गर्न आफू सकारात्मक रहेको बताएको जानकारी दिए ।
उनकाअनुसार उद्योगीहरूले आयात महशुल, कच्चा पदार्थ र तयारी वस्तुमा लाग्ने करको कारण निजी क्षेत्र समस्यामा रहेको गुनासो राखेका थिए। उनले करसँगै निजी क्षेत्रमा अवरोधका रुपमा रहेका ऐन तथा कानून संशोधन गर्ने प्रतिवद्धता अर्थमन्त्री वाग्लेले व्यक्त गरेको पनि बताए ।
बैठकमा उद्योगीहरूले स्वदेशी उत्पादनले आयातित वस्तुसँग प्रतिष्पर्धा गर्नुपर्ने अवस्था रहेको भन्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिने सरकारी नीति प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् । छलफलमा अर्थमन्त्री वाग्लेले सरकारले लगानी प्रवद्र्धन, आयात प्रतिस्थापन गर्ने उद्योगलाई प्रोत्साहन तथा स्वदेशी र वैदेशिक लगानीमैत्री वातावरण निर्माणलाई प्राथमिकतामा राखेको बताएको समेत ढकालले जानकारी दिए ।
छलफलमा अर्थमन्त्री वाग्लेले अर्थतन्त्रसँग सम्बन्धित ४२ वटा ऐन यसै वर्ष संशोधन वा खारेज गर्ने प्रक्रिया अघि बढेको जानकारी दिँदै प्रशासनिक झन्झट घटाउने प्रतिवद्धता जनाएको समेत पूर्वअध्यक्ष ढकालले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्