काठमाडौँ । नेपाल धितोपत्र बोर्डले तीनओटा धितोपत्र दलाल (ब्रोकर) कम्पनीलाई कारबाही गरेको छ । बोर्डले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्था उल्लंघन गरेको ठहर गर्दै तीन ब्रोकरलाई कारवाही गरेको हो । बोर्डले तीन कम्पनीलाइ कुल १ करोड १० लाख रुपैयाँ जरिवाना गरेको छ ।
बोर्डले सार्वजनिक गरेको निर्णयअनुसार कारबाहीमा सिप्ला सेक्युरिटिज, श्रीकृष्ण सेक्युरिटिज र हातेमालो फाइनान्सियल सर्भिसेज परेका छन्।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ७फ उपदफा ९१० को खण्ड ९ख० बमोजिम गरिएको कारबाहीअन्तर्गत सिप्ला सेक्युरिटिजलाई ५० लाख रुपैयाँ, श्रीकृष्ण सेक्युरिटिजलाई ३० लाख रुपैयाँ तथा हातेमालो फाइनान्सियल सर्भिसेजलाई ३० लाख रुपैयाँ जरिवाना गरिएको बोर्डले जनाएको छ।
धितोपत्र बोर्डले मर्चेन्ट बैंकर तथा सेयर रजिस्ट्रार सानिमा क्यापिटल लिमिटेडलाई पनि सचेत गराएको छ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को बोनस सेयर लगानीकर्ताको डिम्याट खातामा जम्मा गर्ने क्रममा २ हजार ५३३ जना सर्वसाधारण शेयरधनीको खातामा जम्मा हुनुपर्नेभन्दा बढी सेयर जम्मा भएको पाइएपछि बोर्डले कारबाही गरेको हो।


प्रतिक्रिया दिनुहोस्