एलपी ग्यासको माग अस्वाभाविक रूपमा वृद्धि, दुई साताभित्र आपूर्ति सहज हुने निगमको दाबी


काठमाडाैँ । नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले बजारमा खाना पकाउने एलपी ग्यासको मागमा अस्वाभाविक वृद्धि भएको कारण उपभोक्ताको मागअनुसार आपूर्ति गर्न नसकिएको बताएका छन् । 

बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा उनले ग्यास आयातमा विगतको तुलनामा बढ्दै गएपनि उपभोक्ताको अस्वाभाविक मागका कारण आपूर्ति गर्न नसकिएको बताए ।

उनले एउटा सिलिण्डरले केही समय धान्ने अवस्थामा तत्काल अर्को सिलिण्डरका लागि नाम दर्ता गर्दा वास्तविक आवश्यकतामा रहेका उपभोक्ता प्रभावित भएको उल्लेख गरे ।

उनले उपभोक्तालाई अनावश्यक रूपमा ग्यास भण्डारण नगर्न पनि आग्रह गरे । निगमले भारतीय आयल कर्पोरेशनसँग दुई महिनाका लागि मासिक ६० हजार मेट्रिक टन एलपी ग्यास माग गरेको उनकाे भनाइ छ । यसअघि मासिक करिब ४७ हजार मेट्रिक टन ग्यास आयात हुँदै आएको आएको थियो ।

निगमको उक्त मागअनुसार थप ग्यास तकाल उपलब्ध गराउन नसकिने जवाफ भारतीय आयल कर्पोरेसनले दिएको बरालको भनाइ छ । उनले निगमले दशैं–तिहारलाई लक्षित गर्दै भारतबाट ग्यास आयात बढाउने प्रयास गरिरहेको पनि बताए । बरालले सरकारले पहल गरेर मासिक ५० देखि ५५ हजार मेट्रिक टन ग्यास आयात सुनिश्चित गर्न सके दशैँ–तिहारअघि उपभोक्ताका घरमा रहेका खाली सिलिण्डरसम्म भर्न सकिने र त्यसपछि बजारमा आपूर्ति अवस्था सामान्य बन्ने विश्वास व्यक्त गरे ।

उनले भने, “ग्यासको आयातमा केही वृद्धि भएको छ । तर वास्तवमा हामीले कन्जुमरको डिमान्डलाई व्यवस्थापन गर्न सकिएको अवस्था चाँही छैन । उपभोक्ताको माग सम्बोधन गर्नको लागि हामी लागिपरेको अवस्था छ । हामीले भारतीय ओयललाई पनि दुई महिना जति हाम्रो ६० हजार मेट्रिक टन ग्यासको माग गरेका छौँ । यसअघि हामीले ४७ मेट्रिक टन माग गर्ने गरेका थियौँ । यद्धपी उहाँहरुले पनि बढाएर पठाएको मागअनुसार ग्यास उपलब्ध गराउन नसकिने जानकारी दिएको छ । यसबीचमा हिजो उपभोक्ता हित संरक्षण समितिमा पनि कुराहरू उठे । यसको लागि सरकारले नै आग्रह गरेर ५० देखि ५५ हजार मेट्रिक टन ग्यास आयात हुने अवस्था भइदियो भने हामीले यो दशैं र तिहारलाई मध्यनजर गरेर जनताको घरमाखाली रहेका सिलिण्डरहरु समेत भरिदिनसक्छौँ । त्यसपछि सामान्य माग आउँछ भन्ने बाटोमा हामी अगाडि बढिरहेका छौँ ।”

उनले बजारमा उत्पन्न ग्यास अभावको समस्या अबको दुई हप्ताभित्रमा हल भइसक्ने विश्वास पनि व्यक्त गरे ।