५६ अर्ब रूपैयाँकाे म्युचुअल बजार,अधिकांशको मूल्य आइपिओ भन्दा तल


काठमाडौँ । पछिल्ला वर्षहरूमा नेपालको पुँजीबजारमा सामूहिक लगानी कोष (म्युचुअल फन्ड) को विस्तार तीव्र गतिमा भइरहेको छ । नयाँ–नयाँ योजनाहरू थपिँदै जाँदा कोषको संख्या र व्यवस्थापनमा रहेको सम्पत्तिको आकार दुवै उल्लेख्य रूपमा बढेका छन्।

आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्मको प्रतिइकाइ सम्पत्ति मूल्य प्रभु क्यापिटलद्वारा व्यवस्थापित प्रभु स्मार्ट फन्ड सबैभन्दा उच्च न्याभ भएको योजना बनेको छ भने एचएलआई लार्ज क्याप फन्ड सबैभन्दा कम न्याभ भएको फन्डको रूपमा देखिएको छ ।

तथ्यांकअनुसार प्रभु स्मार्ट फन्डको न्याभ १४.०३ रुपैयाँ रहेको छ । त्यसपछि प्रभु सेलेक्ट फन्ड १३.०४ रुपैयाँ, हिमालयन ८०–२० १२.३७ रुपैयाँ, कुमारी धनवृद्धि योजना १२.२६ रुपैयाँ र ग्लोबल आइएमई ब्यालेन्स्ड फन्ड –१को ११.७८ रुपैयाँ न्याभसहित शीर्ष पाँच स्थानमा रहेका छन्।

सबैभन्दा कम न्याभ भएका योजनामा एचएलआई लार्ज क्याप फन्ड ८.७३ रुपैयाँ सहित अन्तिम स्थानमा रहेको छ । त्यसपछि सिटिजन्स सन्तुलित योजना ९.३४ रुपैयाँ, एनआइबिएल स्टेबल फन्ड ९.४५ रुपैयाँ, मेगा म्युचुअल फन्ड–१ ९.४८ रुपैयाँ र एनआइसी एसिया सेलेक्ट–३० ९.५५ रुपैयाँ न्याभमा रहेका छन्।


अधिकांश फन्डको बजार मूल्य १० रुपैयाँ मुनि

नेप्सेमा सूचीकृत ४६ वटा बन्दमुखी म्युचुअल फण्डमध्ये ३० वटा योजनाको बजार मूल्य अझै पनि प्रतिइकाइ १० रुपैयाँभन्दा तल रहेको छ ।

अर्थात् यी फण्डहरू प्राथमिक निष्कासन (आईपीओ) मूल्यभन्दा पनि कम मूल्यमा कारोबार भइरहेका छन्। तीमध्ये ४ वटा योजनाको बजार मूल्य ८ रुपैयाँको हाराहारीमा झरेको छ भने २६ वटा योजनाको मूल्य ९ रुपैयाँको दायरामा कारोबार भइरहेको छ ।

सबैभन्दा धेरै डिस्काउन्ट मा कारोबार हुने योजनामा एनआइबिएल समृद्धि फण्ड–२ रहेको छ, जसको बजार मूल्य न्याभभन्दा १२.८९ प्रतिशत कम छ । त्यस्तै आरबीबी म्युचुअल फण्ड–२, एनआइसी एसिया ग्रोथ फण्ड–२, मुक्तिनाथ म्युचुअल फण्ड–१ लगायतका योजनाहरू पनि उल्लेख्य छुटमा कारोबार भइरहेका छन्।

यता ४६ योजनामध्ये लक्ष्मी उन्नति कोषको इकाइ मूल्य भने न्याभभन्दा ६.१५ प्रतिशत प्रिमियम मा कारोबार भइरहेको छ ।
५६ अर्बको म्युचुअल फन्ड

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार हाल बजारमा सञ्चालनमा रहेका सामूहिक लगानी कोषको संख्या ६४ पुगेको छ भने कोष कुल आकार करिब ५६ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । यसले संस्थागत लगानीको आधार विस्तार हुँदै गएको देखिन्छ ।

तर, कोषको संख्या र आकार बढ्दै गएपनि उनीहरुले उद्देश्यअनुसार पुँजीबजारमा प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप बढ्दो छ ।

बजारमा तरलता अभिवृद्धि गर्ने, बजारलाई स्थायित्व प्रदान गर्ने, साना लगानीकर्ताको हित संरक्षण गर्ने तथा व्यावसायिक संस्थागत लगानीकर्ताको रूपमा बजारलाई सन्तुलित बनाउने अपेक्षा गरिए पनि अधिकांश म्युचुअल फण्ड निष्क्रिय देखिएको भन्दै लगानीकर्ताहरूले आलोचना गर्दै आएका छन्।