प्राथमिक पूँजी बजारको ‘श्वेतपत्र’ सार्वजनिक, आईपीओ प्रणालीमा आमूल परिवर्तनको तयारी


काठमाडाैँ । नेपाल धितोपत्र बोर्डले प्राथमिक पूँजी बजारको दीर्घकालीन विकासका लागि ‘नेपालको प्राथमिक पूँजी बजार विकास सम्बन्धी श्वेतपत्र, २०८३’ सार्वजनिक गरेको छ । बोर्डले आर्थिक वर्ष २०८३/८४ को पूँजी बजार नीतिअनुसार नियामकीय सुधारलाई अघि बढाउने क्रममा उक्त श्वेतपत्र सार्वजनिक गरेको जनाएको छ ।

बोर्डका अनुसार श्वेतपत्रले नेपालको प्राथमिक पूँजी बजारको वर्तमान अवस्था, कानुनी तथा संस्थागत सीमितता, समस्या, चुनौती र सुधारका रणनीतिलाई समेट्दै आगामी दशकका लागि स्पष्ट मार्गचित्र तय गरेको छ ।

प्राथमिक बजारलाई पारदर्शी, निष्पक्ष, प्रतिस्पर्धी, दक्ष, प्रविधिमैत्री तथा अन्तर्राष्ट्रिय असल अभ्यासअनुकूल बनाउने उद्देश्यसहित नीतिगत, कानुनी, संस्थागत र कार्यान्वयनसम्बन्धी एकीकृत रूपरेखा पनि श्वेतपत्रमा समावेश गरिएको छ ।

श्वेतपत्रमा प्राथमिक बजार सुधारका लागि तीन चरणमा कार्यान्वयन रणनीति अघि सारिएको छ । पहिलो चरणमा एक वर्षभित्र ऐन, नियमावली तथा बुक बिल्डिङलगायतका नीतिगत तथा कानुनी सुधार गरिने उल्लेख छ । दोस्रो चरणमा एकदेखि दुई वर्षभित्र डिजिटल आईपीओ प्लेटफर्म, ई–केवाइसी, रजिस्ट्रार तथा सुपरटेकजस्ता प्रविधिगत र संस्थागत प्रणाली सुदृढ गरिने योजना रहेको छ ।

त्यसैगरी, तेस्रो चरणमा दुईदेखि पाँच वर्षभित्र पूर्ण रूपमा बजार–आधारित आईपीओ मूल्य निर्धारण प्रणाली लागू गर्ने, योग्य संस्थागत खरिदकर्ता तथा एन्कर इन्भेस्टर को अवधारणा कार्यान्वयनमा ल्याउने लक्ष्य बोर्डले राखेको छ।

बोर्डले निष्कासन तथा बिक्री प्रबन्धक, लेखापरीक्षक र क्रेडिट रेटिङ संस्थाहरूको ‘ड्यु डिलिजेन्स’ जिम्मेवारीलाई थप स्पष्ट र उत्तरदायी बनाउने नीति पनि लिएको जनाएको छ।

यो श्वेतपत्र आईपीओ प्रणाली सुधारमा मात्र सीमित नभई निजी क्षेत्रको प्रतिस्पर्धात्मक विकास, दीर्घकालीन पूँजी परिचालन र समग्र आर्थिक रूपान्तरणका लागि रणनीतिक आधार दस्तावेजका रूपमा कार्यान्वयन गरिने धितोपत्र बोर्डका एक अधिकारीले बताए ।

सरोकारवाला निकायसँग निरन्तर परामर्श गर्दै प्रस्तावित सुधारलाई चरणबद्ध रूपमा नीतिगत, कानुनी, प्रक्रियागत तथा प्रविधिगत सुधारमार्फत लागू गर्ने उनले जनाए ।