नेपालमा पढेका चिकित्सा शिक्षाका विद्यार्थी अब्बल,मेडिकल काउन्सिलको लाइसेन्स परीक्षामा ९८.३७ प्रतिशत उत्तिर्ण


काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले सञ्चालन गरेको विशेष परीक्षाको नतिजा सार्वजनिक गरेको छ । काउन्सिलका अनुसार परीक्षामा सहभागी कुल १,०१३ जना परीक्षार्थीमध्ये ९४७ जना उत्तीर्ण भएका छन् भने ६५ जना अनुत्तीर्ण भएका छन् । समग्र उत्तीर्ण प्रतिशत ९३.४८ रहेको छ ।

साउन ७ र ८ गते सञ्चालन गरिएको उक्त परीक्षामा नेपाल तथा विदेशका विभिन्न शैक्षिक संस्थाबाट अध्ययन पूरा गरेका परीक्षार्थीहरू सहभागी भएका थिए ।

प्रकाशित नतिजामा नेपालका मेडिकल कलेजमा अध्ययन गरेर परीक्षामा सहभागी ९ सय १९ जनामध्ये ९०४ जना उत्तीर्ण भएका छन् । नेपालको उत्तीर्ण प्रतिशत ९८.३७ रहेको छ, जुन सबैभन्दा उच्चमध्ये एक हो ।

विदेशी मुलुकतर्फ पाकिस्तान र संयुक्त राज्य अमेरिकाबाट सहभागी सबै परीक्षार्थी उत्तीर्ण भएका छन् । भारतबाट सहभागी १७ जनामध्ये १३ जना उत्तीर्ण भई ७६.४७ प्रतिशत नतिजा आएको छ । चीनबाट सहभागी ३७ जनामध्ये ८ जना मात्र उत्तीर्ण हुँदा उत्तीर्ण प्रतिशत २१.६२ रहेको छ ।


त्यस्तै इजिप्टबाट ४२.११ प्रतिशत, किर्गिस्तानबाट ४० प्रतिशत तथा फिलिपिन्सबाट ४० प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। बेलारुसबाट सहभागी एक परीक्षार्थी भने उत्तीर्ण हुन सकेनन् ।