सडकमा सिठी फुकेर मात्र ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्युनिकरण गर्न सकिँदैनः ट्राफिक प्रहरी


काठमाडाैँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशप्रसाद काफ्लेले ट्राफिक प्रहरीले सडकमा सिठी फुकेर मात्रै ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्युनिकरण गर्न नसकिने बताएका छन् । 

आइतबार आयोजित ‘ट्राफिक व्यवस्थापनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासहरू’ विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक व्यवस्थापनको लागि प्रविधिमैत्री ‘फेसलेस ट्राफिक’ प्रणालीतर्फ जानुपर्नेमा जोड दिए ।

सडक अनुशासन उल्लंघनका कारण निर्दोष नागरिकको ज्यान जाने क्रम रोक्न प्रविधिको प्रयोगसंग पूर्वाधार विकास तथा ट्राफिक शिक्षा अतिआवश्यक रहेको बताए । मादक पदार्थ तथा लागुऔषध सेवन गरेर सवारी चलाउने र तीव्र गतिमा सवारी चलाउने प्रवृत्ति सडक दुर्घटनाका प्रमुख कारण रहेको उनको भनाइ छ ।

सडक नियम पालना नगर्ने चालकका कारण नियम पालना गरिरहेका अन्य सडक प्रयोगकर्तासमेत जोखिममा पर्ने गरेको उनले बताए । उनले ट्राफिक व्यवस्थापनमा सडक सुरक्षा क्षेत्रका ‘थ्री ई’ अर्थात् इन्जिनियरिङ, एजुकेसन र इन्फोर्समेन्ट तीनै पक्षलाई प्रभावकारी बनाउनुपर्ने उल्लेख गरे ।

सडकको डिजाइन तथा पूर्वाधार सुधारसँगै ट्राफिक शिक्षा विद्यालय तहदेखि नै पाठ्यक्रममा समेट्नुपर्ने उनको भनाइ छ । उनले नेपालमा हालसम्म ट्राफिक नियमसम्बन्धी शिक्षा नेपालको कुनै विद्यालय तथा विश्वविधालयमा पढाई नहुने गुनासो गरे । उनकाअनुसार ट्राफिक प्रहरीले पछिल्लो समय विद्यालय, कलेज तथा विश्वविद्यालयमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

सामाजिक सञ्जालमार्फत हरेक साता करिव २० देखि ३० लाख मानिससम्म ट्राफिक सचेतनामूलक सामग्री पु¥याउने र प्रत्यक्ष रूपमा मासिक तीनदेखि चार लाख मानिसलाई सचेतना कार्यक्रममार्फत जोड्ने प्रयास भइरहेको उनले बताए । ट्राफिक नियम उल्लंघनपछि सञ्चालन हुने सचेतना कक्षाले पनि प्रभावकारी परिणाम दिएको उनको दाबी छ । कक्षामा सहभागी अधिकांशले ट्राफिक नियमसम्बन्धी शिक्षा चालक अनुमतिपत्र लिने समयमै पाएमा अझ प्रभावकारी हुने उनको भनाइ छ ।

उनले ट्राफिक प्रहरीको पहिलो प्राथमिकता जरिवाना असुल्नु नभई सडक दुर्घटना न्युनिकरण गर्नु रहेको स्पष्ट पारे । उनले ट्राफिक प्रहरीलाई कारबाही गर्दा नागरिकसँग रुखो व्यवहार नगर्न निर्देशनसमेत दिए । ट्राफिक प्रहरीले कानुन कार्यान्वयन गराउँदा नम्र भाषा प्रयोग गर्नुपर्ने, नागरिकलाई सम्मानपूर्वक व्यवहार गर्नुपर्ने र कारबाही प्रक्रिया पारदर्शी बनाउनुपर्ने उनको भनाइ छ ।

उनले ट्राफिक प्रहरीमाथि आउने आलोचनाको प्रमुख कारण कामभन्दा पनि काम गर्ने शैली र व्यवहार भएको बताउनु भयो । यसलाई सुधार गर्न उनले निर्देशन दिए । सडक दुर्घटनामा कमी आएपनि हालको अवस्था सन्तोषजनक नरहेको उनकाे भनाइ छ । उनकाअनुसार नेपालमा दैनिक औसत आठ जनाको सडक दुर्घटनामा मृत्यु हुने र करिव ७५ जना गम्भीर घाइते हुने अवस्था रहेको छ ।

गत वर्षको तुलनामा सडक दुर्घटनामा करिव २० प्रतिशत कमी आएको भएपनि त्यसलाई पर्याप्त मान्न नसकिने उनको भनाइ छ । आगामी वर्ष दुर्घटना अझ घटाउने लक्ष्यका साथ ट्राफिक प्रहरीले काम गर्नुपर्ने उनले बताए ।