काठमाडाैँ । राष्ट्रिय सभामा नेकपा (एमाले) की सांसद सम्झना देवकोटाले नागरिकको स्वास्थ्योपचार र सामाजिक सुरक्षाको दायित्व पूरा गर्न सरकार असफल भएको आरोप लगाएका छन् ।
राष्ट्रिय सभाको बुधवारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद देवकोटाले काभ्रेको मण्डनदेउपुरका एक वृद्ध दम्पतीले गरेको आत्महत्याको घटनालाई लिएर सरकारको आलोचना गरे ।
मण्डनदेउपुर नगरपालिका–७ का ६८ वर्षीय केदारनाथ पराजुलीले बोनम्यारो क्यान्सरबाट पीडित आफ्नी ६७ वर्षीया पत्नी तिलकुमारी पराजुलीलाई बुईमा बोकेर सुनकोशी नदीमा हाम फालेको घटनाले मुलुकलाई स्तब्ध बनाएको उनले बताइन् ।
उनले नेपालको संविधानको धारा ३५ ले प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउने हक सुनिश्चित गरे पनि व्यवहारमा सरकारले स्वास्थ्य सेवा र उपकरणमा कर लगाएर उपचारलाई महँगो बनाएको उल्लेख गरिन् । जटिल र नसर्ने रोगको उपचार सर्वसाधारणको पहुँच बाहिर पुग्नु र जेष्ठ नागरिकहरूले सहाराविहीन महसुस गर्नु राज्यका लागि लज्जास्पद विषय भएको उनको तर्क छ ।
उनले भनिन्, “यो सामान्य आत्महत्या मात्र होइन, आर्थिक अभावका कारण उपचार गर्न नसकेर लिइएको जल समाधि हो । विपन्न नागरिकले उपचार नपाएर ज्यान फाल्नुपर्ने अवस्थाले राज्यको सामाजिक सुरक्षा र स्वास्थ्य नीतिमाथि गम्भीर प्रश्न खडा गरेको छ । पीडित परिवार राहत र सहमतिको कार्यान्वयनका लागि सिंहदरबारको गेटमा भौँतारिरहेका छन् तर सरकारले एक रुपैयाँ पनि सहयोग गरेको छैन ।”
सांसद देवकोटाले सरकारले पीडित पक्षसँग गरेका सम्झौताहरू कार्यान्वयन नगरेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण समेत गराइन् । गत असार २५ गते आत्मदाह गरेका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले गरेको ९ बुँदे सहमति अझै कार्यान्वयन नभएको उनले उल्लेख गरिन् । बजारमा देखिएको खाना पकाउने ग्यासको अभावप्रति पनि सांसद देवकोटाले सरकारको ध्यानाकर्षण गराइन् ।


प्रतिक्रिया दिनुहोस्