काठमाडाैँ । नेपाल प्रहरीले स्राेत नखुलेकाे ५१ लाख ३४ हजार रूपैयाँसहित एक जनालाई पक्राउ गरेकाे छ। सर्लाहीकाे ब्रह्मपुरी गाउँपालिका–२ स्थित राजदेवी मन्दिर अगाडि स्रोत नखुलेको रकम सहित एक जनालाई पक्राउ गरेकाे प्रहरीले जनाएकाे छ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले भेल्हीबाट वयलबासतर्फ जाँदै गरेको ज.१० प ८६५२ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्ने क्रममा स्कुटरको डिकी, अन्य फर्स्ट बटन तथा बोकी ल्याएको कालो झोलाभित्र लुकाइछिपाई राखेको स्रोत नखुलेको नेपाली रुपैयाँ ५१ लाख ३४ हजार बरामद गरेको हो।
नियन्त्रणमा लिने क्रममा स्कुटर आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा महोत्तरीको गौशाला नगरपालिका–१२ बस्ने अन्दाजी ५७ वर्षीय जगन्नाथ महतो कोईरी घाइते भएका थिए। उनलाई प्रादेशिक अस्पताल मलंगवा, सर्लाहीमा सामान्य उपचारपछि थप उपचारका लागि म्याक्स अस्पताल, मलंगवा लगिएकोमा उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको छ।
बरामद रकममा एक हजार रूपैयाँ दरका ३ हजार ५०० थान, ५०० रूपैयाँ दरका ३ हजार १०८ थान, एक सय रूपैयाँ दरका ७०० थान र ५० रूपैयाँ दरका २०० थान नोट रहेका छन्।
निजलाई नियन्त्रणमा लिने क्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएका प्रहरी सहायक हवल्दार राजेशकुमार यादव र प्रहरी जवान रामचन्द्रलाई समेत सामान्य चोट लागेको थियो। उनीहरू प्रादेशिक अस्पताल मलंगवामा उपचारपछि डिस्चार्ज भएका छन्। बरामद रकम, स्कुटर र जगन्नाथ महतो कोईरीलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्