संरक्षण अभियानको प्रभावः केन्यामा हात्तीको संख्या ४२ हजार नाघ्यो


विश्व हात्ती दिवसको सन्दर्भमा केन्याले हात्ती संरक्षणको क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । चोरी–शिकारी नियन्त्रण र मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि चालिएका सुदृढ कदमका कारण केन्यामा हात्तीको संख्यामा उल्लेख्य वृद्धि भएको हो ।

केन्या वाइल्डलाइफ सर्भिस ले सन् २०२५ मा गरेको पछिल्लो गणनाअनुसार मुलुकमा हात्तीको कुल संख्या ४२ हजार ७२ पुगेको छ । राष्ट्रिय निकुञ्ज र वन्यजन्तु प्रणालीहरूमा अपनाइएको बहुआयामिक सुरक्षा संयन्त्रका कारण यो उपलब्धि सम्भव भएको बताइएको छ ।

वन्यजन्तु संरक्षणका लागि केन्या वाइल्डलाइफ सर्भिस र सेल्ड्रिक वाइल्डलाइफ ट्रस्टले सहकार्य गर्दै आएका छन्। ।

ट्रस्टले साम्बुरु राष्ट्रिय निकुञ्ज लगायतका दुर्गम क्षेत्रहरूमा २६ वटा विशेष चोरी–शिकारी नियन्त्रण टोली परिचालन गरेको छ । यी टोलीहरूले निकुञ्जभित्र पैदल गस्ती गर्दै वन्यजन्तुका लागि थापिएका पासोहरू हटाउने र सुरक्षा सुनिश्चित गर्ने कार्य गर्दछन् । 

सेल्ड्रिक वाइल्डलाइफ ट्रस्टका मुख्य संरक्षक (हेड किपर) एड्विन लुसिचीकाअनुसार रेन्जर र संरक्षणकर्मीहरूको निरन्तरको सक्रियताले हात्तीको संख्या बढ्न मद्दत पुगेको हो । संरक्षण कार्यलाई प्रभावकारी बनाउन प्रविधिको समेत प्रयोग गरिएको छ ।

हेलिकप्टरमार्फत हवाई निगरानी गरी शंकास्पद गतिविधिहरू पत्ता लगाउने र स्थलगत टोलीलाई तत्काल जानकारी दिने व्यवस्था मिलाइएको छ । यसका साथै, घाइते वन्यजन्तुका लागि आपतकालीन उपचार सेवा र अपराधीहरूलाई पछ्याउन तालिमप्राप्त कुकुरहरूको समेत परिचालन गरिँदै आएको छ । 

वन्यजन्तु संरक्षणलाई दिगो बनाउन केन्याले दीर्घकालीन रणनीतिका साथ स्थानीय समुदाय र विद्यालयका विद्यार्थीहरूलाई समेत सचेतना कार्यक्रममा सहभागी गराउँदै आएको छ। यस्ता शिक्षाप्रद कार्यक्रमहरूले भविष्यमा मानव–हात्ती द्वन्द्व कम गर्न र प्राकृतिक सम्पदाको संरक्षणमा मद्दत पुग्ने विश्वास अधिकारीहरूले व्यक्त गरेका छन् ।