परराष्ट्र नीति दलीय स्वार्थभन्दा माथि र परिणाममुखी हुनुपर्छः सभापति उदास


काठमाडाैँ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिकी सभापति एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुम्निमा उदासले नेपालको परराष्ट्र नीति कुनै दल वा व्यक्तिको स्वार्थभन्दा माथि उठेर सामुहिक राष्ट्रिय हितमा केन्द्रित हुनुपर्ने बताएकी छिन् । 

नेपाल कानून समाज र संविधान निगरानी समूहद्वारा आयोजित ‘नेपालको परराष्ट्र नीतिः अवसर, चुनौती र भावी कार्यदिशा’ विषयक छलफल कार्यक्रममा सभापति उदासले परराष्ट्र नीतिलाई समयसापेक्ष बनाउन संस्थागत क्षमता अभिवृद्धि र यसलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिइन् ।

उनले सरकार र राजनीतिक नेतृत्व परिवर्तन भएपनि राष्ट्रिय हित दीर्घकालीन हुने उल्लेख गर्दै परराष्ट्र नीतिलाई स्थिर र साझा दृष्टिकोणका रूपमा अगाडि बढाउनुपर्ने बताइन् । उदासले नेपालले कुनैपनि महत्वपूर्ण अन्तर्राष्ट्रिय निर्णय लिनुअघि तीनवटा मुख्य आधारहरूलाई मापदण्ड बनाउनुपर्ने प्रश्ताव गरिन् ।

उनकाअनुसार, पहिलो–कुनै पनि निर्णयले नेपालको सार्वभौमसत्ता र रणनीतिक स्वायत्ततालाई कति मजबुत बनाउँछ भन्ने हेरिनुपर्छ । दोस्रो– त्यस निर्णयले नेपाली नागरिकको समृद्धि, रोजगारी र अवसर सिर्जनामा पु¥याउने योगदानको मूल्याङ्कन हुनुपर्छ । र तेस्रो– यसले भावी पुस्तालाई कस्तो प्रकारको सुरक्षित, समृद्ध र सम्मानित नेपाल हस्तान्तरण गर्छ भन्ने पक्षलाई आत्मसात गरिनुपर्छ । 

यी तीन प्रश्नको उत्तर नै नेपालको राष्ट्रिय हितको वास्तविक मापदण्ड बन्नुपर्ने सभापति उदासको भनाइ छ । उनले नेपालको परराष्ट्र सम्बन्धलाई थप सुदृढ बनाउन स्पष्ट मार्गचित्र र राष्ट्रिय सहमति आवश्यक रहेको समेत बताइन् ।