व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ अनुसार प्रवाह भएका कर्जामा सोही बमोजिम अनुदान पाउने


काठमाडौँ । नेपाल राष्ट्र बैंकले ब्याज अनुदानसम्बन्धी कार्यविधिको पहिलो संशोधन बमोजिम गर्न गराउन सबै वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई सूचना जारी गरेको छ ।

राष्ट्र बैंकले मन्त्रीस्तरीय बैंठकबाट २०८३ असार १८ गतेको निर्णयानुसार सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी कार्यविधिको पहिलो संशोधन स्वीकृत भएको थियो ।

उक्त संशोधनसमेत समावेश गरिएको कार्यविधि बमोजिम गर्न गराउन राष्ट्र बैंकले सूचना जारी गरेको हो ।

कार्यविधिमा प्राकृतिक विपद् पीडितको निजी आवास निर्माण कर्जा प्रदान गर्दा बैङ्क तथा वित्तीय संस्थाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट निजी आवास निर्माण गर्न अनुदान नपाएको सम्बन्धमा ऋणीको स्वःघोषणा लिनुपर्ने जनाइएको छ।

यस्तै, ऋणीले परिस्थितिजन्य कारणले कुनै त्रैमासिकमा नियमानुसार भुक्तानी गर्नुपर्ने कर्जा रकम भुक्तानी नगरेको अवस्थामा त्यस्तो कर्जा रकम अर्को त्रैमासिकमा बक्यौता चुक्ता गरी नियमित गरेमा बैङ्क तथा वित्तीय संस्थाले परिस्थितिजन्य कारण र कर्जाको सदुपयोग भएको यकीन गरेर सम्पूर्ण अवधिको व्याज अनुदान माग गर्न सक्ने जनाइएको छ ।

सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि, २०७५ बमोजिम प्रवाह भएका कर्जाहरूको हकमा सोही कार्यविधि बमोजिम कर्जा, व्याज अनुदान, कर्जा सुरक्षण तथा बीमाका सेवा तथा शर्त बमोजिम अनुदान पाउने छन्।