‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को तेस्रो दिनसम्म ७७ हजारभन्दा बढीले गरे अवलोकन


काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ को तेस्रो दिनमै ७७ हजारभन्दा बढीले मेला अवलोकन गरेका छन् । मेलाको पहिलो दिन २९ हजार, दोस्रो दिन २६ हजार र तेस्रो दिन २२ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेको आयोजकले जनाएको छ ।

मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारी साधन प्रदर्शनीमा राखिएका छन् । नयाँ–नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेर वितरक कम्पनीहरूले अवलोकनकर्तालाई आफ्नो स्टलमा आकर्षित गरिरहेका छन् ।

विकल्प धेरै भएकाले मेलास्थल पुगेका अवलोकनकर्तालाई भने जस्तो सवारीसाधन छान्न सहज भएको आयोजकको भनाई छ । १६–१७ लाखदेखि ३ करोडभन्दा बढी मूल्यका चार पाङ्ग्रे सवारी साधन प्रदर्शनीमा राखिएका छन् ।

दुई पाङ्ग्रेमा पनि अवलोकनकर्ताको उल्लेख्य भीड देखिन्छ । विशेषगरी महँगा ब्रान्डमा युवाको आकर्षण देखिएको छ ।

नाइमा एक्स्पो आफ्नो क्षमताअनुसारको कार बुक गर्ने महत्वपूर्ण अवसर भएको अवलोकनकर्ताहरुले बताएका छन् । अवलोकनकर्ताहरुले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी÷ग्यारेन्टी, रिसेल भ्यालूलगायतका विषयमा चासो राखेका छन् ।

कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । उनीहरुले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, फ्रि सर्भिसिङ, न्यून दरमा कर्जा जस्ता सुविधा दिएका छन् ।

मेलामा हालसम्म विभिन्न ब्रान्डले ५२ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरिसकेका छन् । मेला अवधिभरमा करिब डेढ लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।