काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा १२ प्रतिशतभन्दा बढीले बढाउन सफल भएकाे छ ।
बैंकले समीक्षा अवधिमा २ अर्ब ११ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको १ अर्ब ८८ करोड रुपैयाँको तुलनामा १२.२३ प्रतिशत बढी हो। यस्तै, वितरणयोग्य मुनाफा ४.८६ प्रतिशतले बढेर ९८ करोड १९ लाख रुपैयाँ पुगेको छ।
बैंकको आम्दानी बढ्नुमा खुद ब्याज आम्दानीको वृद्धि मुख्य आधार बनेको देखिन्छ। अघिल्लो आवमा ५ अर्ब ७६ करोड रुपैयाँ रहेको खुद ब्याज आम्दानी गत आवमा बढेर ६ अर्ब ७ करोड रुपैयाँ पुगेको छ।
बैंकले निक्षेप र कर्जा दुवै विस्तार गरेको छ। समीक्षा अवधिसम्म निक्षेप संकलन १ खर्ब ८४ अर्बबाट बढेर २ खर्ब २० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह १ खर्ब ४१ अर्बबाट बढेर १ खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ।
यद्यपि, कर्जाको गुणस्तरमा भने सुधार देखिएको छैन। बैंकको खराब कर्जा अनुपात अघिल्लो आवको ३।९६ प्रतिशतबाट बढेर ३।९८ प्रतिशत पुगेको छ। यसले नाफा वृद्धि भए पनि खराब कर्जा व्यवस्थापन बैंकका लागि चुनौतीकै रूपमा रहेको देखाउँछ।
अर्कोतर्फ, बैंकको लागत घटेको छ। कस्ट अफ फन्ड ४.२३ प्रतिशतबाट घटेर ३.२७ प्रतिशतमा आएको छ। बैंकको सीडी रेसियो ७८.४५ प्रतिशत, बेस रेट ५.०४ प्रतिशत र प्रतिफलदर (आरओई) १०.३६ प्रतिशत रहेको छ।
अघिल्लो आवमा १५.५९ रुपैयाँ रहेको बैंकको प्रतिसेयर आम्दानी बढेर १७.४९ रुपैयाँ पुगेको छ। प्रतिसेयर नेटवर्थ १६९.९ रुपैयाँ, पीई रेसियो १४.१८ गुणा र तरलता अनुपात ३२.९३ प्रतिशत कायम भएको छ।
समग्रमा, माछापुच्छ्रे बैंकले नाफा, ब्याज आम्दानी र व्यवसाय विस्तारमा सुधार गरे पनि खराब कर्जा नियन्त्रणलाई आगामी दिनको प्रमुख चुनौतीका रूपमा सामना गर्नुपर्ने देखिएको छ।


प्रतिक्रिया दिनुहोस्