काठमाडाैँ । कृषि वन तथा पर्यावरण मन्त्रालय, जलवायु परिर्वतन महाशाखा प्रमुख डा. महेश्वर ढकालले युवाहरूले जलवायु परिवर्तनलाई गहिराइमा बुझ्दै नीति निर्माण र जलवायु कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् ।
काठमाडौँमा शुक्रबार लोकल कन्फरेन्स अफ युथलाई सम्बोधन गर्दै डा. ढकाललले जलवायु परिवर्तनलाई अझ गहिराइमा बुझेर बदलिँदो परिस्थिति अनुसार युवाहरुले आफ्नो भुमिका पहिचान गर्नुपर्ने बताएका हुन् ।
युवाहरू नवप्रवर्तनकर्ता, परिवर्तनका संवाहक र भविष्यको आशाको केन्द्र भएकाले उनीहरुले बोल्ने, लेख्ने, प्रश्तुत गर्ने र सुन्ने शैलीले नेपालको भविष्यलाई मार्गदर्शन गर्ने बताएका हुन् । पछिल्लो पुस्ता अघिल्लो पुस्ताभन्दा अझ अनुशासित र जिम्मेवार हुनुपर्ने उल्लेख गर्दे उनले युवाहरूमा अनुशासन, नम्रता र विनम्रता आवश्यक रहेको बताए ।
हरित अर्थतन्त्रमार्फत युवाका लागि रोजगारी, आम्दानी र समृद्धिको बाटो निर्माण गर्न सकिने भएकाले सरकार सँगै सबै सरोकारवालाको ध्यान त्यसतर्फ आकर्षित हुनुपर्ने आवश्यकता औँल्याए । उनले जलवायु वित्त, प्रविधि हस्तान्तरण र क्षमता विकासका लागि अन्तर्राष्ट्रियस्तरमा पैरवी गर्दै गर्दा नेपालमा उपलब्ध स्रोत र साधनको सही सदुपयोगमा पनि ध्यान दिनुपर्नेमा जोड दिए ।
उनले स्थानीय सरकारसँग स्रोतसाधनसँगै स्थानीय समस्या र जलवायुजन्य जोखिमबारे प्रत्यक्ष जानकारी हुने भएकाले युवाहरूलाई स्थानीय सरकारसँग सहकार्य गरेर जलवायु कार्य अघि बढाउनेतर्फ पनि ध्यान केन्द्रीत गर्न सुझाव दिए । उनले युथ सम्मेलनले तयार गरेको आधारपत्र र निष्कर्षलाई सरकारले पनि आफ्नो पोजिसन पेपरमा समावेश गर्ने विश्वास दिलाए ।
सम्मेलनमा मुलुकभरबाट १ सय ८० युवा सहभागी छन् । सम्मेलन ३ दिन सम्म चल्ने छ । सम्मेलनमा जलवायु कार्यका विभिन्न ९ वटा सत्रमा विषय विज्ञले प्रश्तुती दिने कार्यतालिका छन् ।


प्रतिक्रिया दिनुहोस्