काठमाडाैँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले ऐन–नियम तर्जुमा गर्दा निजी क्षेत्रलाई केवल ‘साक्षी’ मात्र नबनाई अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गरेका छन् ।
शुक्रबार नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले नीतिगत सुधार र पूर्वाधार विकासका सन्दर्भमा सरकारको ध्यानाकर्षण गराएका हुन् ।
अध्यक्ष श्रेष्ठले पर्यटन ऐन र कम्पनी ऐन जस्ता महत्वपूर्ण कानूनहरू निर्माण गर्दा निजी क्षेत्रलाई पर्याप्त समय नदिई हतारमा सुझाव मागिने गरेको भन्दै असन्तुष्टि व्यक्त गरे । कुनैपनि ऐन ल्याउनुअघि कम्तीमा एक महिनाको समय दिएर देशव्यापी छलफल गर्ने वातावरण बनाउन उनले सरकारलाई आग्रह गरे ।
पर्यटन क्षेत्रलाई विदेशी मुद्रा आर्जनको मुख्य आधार मानिए पनि यसको वास्तविक लाभ र स्थानीय उत्पादनको योगदानबारे गम्भीर समीक्षा हुनुपर्नेमा उनले जोड दिए । १० लाख पर्यटकको मानसिकताबाट माथि उठेर वार्षिक २० लाखभन्दा बढी पर्यटक भित्र्याउन पूर्वाधार र हवाई कनेक्टिभिटी मुख्य चुनौती रहेको उनको तर्क छ ।
यसै सन्दर्भमा उनले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको सुधारका लागि रणनीतिक साझेदार भित्र्याउन वा निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्नुपर्ने सुझाव दिए ।
अध्यक्ष श्रेष्ठले भने, “मन्त्रालयहरूले एक हप्ताभित्र सुझाव दिन दबाब दिने गरेका छन्, जसले गर्दा विस्तृत छलफल हुन पाउँदैन । देशको अर्थतन्त्रमा ८१ प्रतिशत योगदान पु¥याउने निजी क्षेत्रको आवाजलाई औपचारिकतामा मात्र सीमित राख्नु गलत हो । पूर्वाधार बनिसकेपछि मात्र बजार खोज्ने परिपाटीले समस्या ल्याएको छ । अन्तर्राष्ट्रिय विमानस्थलहरूको व्यावसायिक सञ्चालनका लागि निजी क्षेत्र पनि सरकारसँग सहकार्य गर्न तयार छ । बजेटमा घोषणा गरिएका विद्युत महसुल छुट जस्ता सुविधाहरू कार्यान्वयन नहुँदा सरकार र राज्यका निकायप्रतिको विश्वसनीयता घट्दै गएको छ ।”
पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रसङ्गमा बोल्दै अध्यक्ष श्रेष्ठले पूर्वाधार निर्माण हुनुअघि नै बजार प्रवद्र्धन (मार्केटिङ) शुरु गर्नुपर्नेमा राज्य चुकेको टिप्पणी गरे । हवाई सेवामा लगाइएको भ्याटका कारण पर्यटन क्षेत्रमा समस्या परेको उल्लेख गर्दै उनले औद्योगिक व्यवसाय ऐनले दिएका सुविधाहरू कार्यान्वयन नहुनु दुःखद् भएको बताए ।
अध्यक्ष श्रेष्ठले अबको युग डिजिटल प्रविधिको भएको चर्चा गर्दै पर्यटन प्रवद्र्धनका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र डिजिटल मार्केटिङलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस्