सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी शाह,निलम्बित सिइओ थापा र हिमालयन रिइन्स्योरेन्सका गैरे धरौटीमा रिहा


काठमाडौँ । सम्पत्ति शुद्धीकरण मुद्दामा उद्योगी राजबहादुर शाह, नेपाल रिइन्स्योरेन्सका निलम्बित सिइओ सुरेन्द्र थापा र हिमालयन रिइन्स्योरेन्स तल्काली कार्यकारी निर्देशक शिशिर गैरे धरौटीमा रिहा भएका छन् ।

आज विशेष अदालतमा उपस्थित भएका उनीहरूलाई थुनछेक बहसपछि बासुदेव आचार्य, नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले धरौटी मागेको हो ।

विशेष अदालतले शाहसँग १ कराेड ५० लाख, थापासँग १० लाख र गैरेसँग २० लाख धराैटी माग गरेकाे हाे ।

राजबहादुर शाहविरुद्ध १ अर्ब ४१ करोड ८० लाख ७२ हजार ९ सय एक रुपैयाँ चालिस पैसा बिगो दाबीसहित मुद्दा दायर भएको थियो ।

यस्तै नेपाल रिइन्स्योरेन्सका निलम्बित सिइओ सुरेन्द्र थापा विरुद्ध ४ करोड ९० लाख ३ सय २० रुपैयाँ ६० पैसा बिगो दाबी गर्दै मुद्दा दायर भएको थियो ।

हिमालयन रिइन्स्योरेन्सको कार्यकारी निर्देशक रहेका गैरे विरुद्ध तत्कालीन सिइओसहित ६ अर्ब ४ करोड चौतिस लाख दुई हजार २ सय ५७ रुपैयाँ बिगो दाबी गरिएको थियो ।