नेपाल टेलिकमको नाफामा उल्लेख्य बृद्धी , खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो


काठमाडौँ । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकसम्मको अपरिष्कृ वित्तीय विवरण सार्वजनिक गर्दै राजस्व र नाफा दुवैमा उल्लेख्य सुधार भएको जनाएको छ ।

कम्पनीको खुद मुनाफा ४७.५८ प्रतिशतले वृद्धि हुँदै रु. ८ अर्ब ८६ करोड ४६ लाख पुगेको छ ।

कम्पनीका अनुसार चौथो त्रैमासिकसम्म कुल सञ्चालन आय रु. ३४ अर्ब ९५ करोड ४ लाख पुगेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा रु. १ अर्ब ५ करोड ५९ लाख (३.१२ प्रतिशत) बढी हो । यस्तै कुल आय रु. ३९ अर्ब १९ करोड ९६ लाख पुगेको छ, जुन गत वर्षको तुलनामा २.६५ प्रतिशतले वृद्धि भएको हो ।

नाफातर्फ पनि कम्पनीले उल्लेखनीय प्रगति गरेको छ । इबिआइटिडिए रु. २० अर्ब ४८ करोड १ लाख पुगेको छ, जुन अघिल्लो वर्षको तुलनामा १०.७३ प्रतिशतले बढी हो । त्यस्तै कर अघिको मुनाफा रु. १३ अर्ब २६ करोड ४७ लाख पुगेको छ, जसमा ३४.६६ प्रतिशतको वृद्धि देखिएको छ ।
नेपाल टेलिकमका अनुसार प्रति सेयर आम्दानी वार्षिकीकृत आधारमा रु. ४९.२५ रहेको छ।

बैंक तथा वित्तीय क्षेत्रको ब्याजदर घटेका कारण ब्याज आम्दानीमा रु. ८६ करोड १९ लाख (२२.८८ प्रतिशत) कमी आएको भए पनि मुख्य दूरसञ्चार सेवातर्फको आम्दानी बढ्दा समग्र वित्तीय प्रदर्शन सकारात्मक बनेको नेपाल टेलिकमको भनाई छ ।

विशेषगरी जिएसएम सेवाबाट प्राप्त राजस्व रु. ६४ करोड ५४ लाख (२.२८ प्रतिशत) ले वृद्धि भएको छ ।