काठमाडाैँ । नेपाली काँग्रेसका सभापति गगन थापाले पछिल्लो समय वीपी कोईरालाका विचारलाई आफू अनुकुल व्याख्या गर्ने प्रवृत्ति बढेको बताएका छन् ।
आइतबार धर्म गौतमद्वारा प्रकाशित पुस्तक विमोचन कार्यक्रममा उहाँले वीपी कोईरालाको सम्पूर्ण राजनीतिक जीवन, विचार र मूल्यलाई नहेरी आफूलाई आवश्यक परेको सन्दर्भमा मात्रै बीपीको नाम प्रयोग गर्ने प्रवृत्ति काँग्रेसभित्र देखिएको बताएका हुन् । पछिल्लो समय काँग्रेसका नेताहरूले आफ्नो राजनीतिक आवश्यकता पूरा गर्न ‘राष्ट्रिय मेलमिलाप’को प्रसंगमा वीपी कोईरालालाई सम्झने गरेको टिप्पणी गरे ।
काँग्रेस ईतरपक्षलाई लक्षित गर्दै उनले नेताहरुले आफ्ना राजनीतिक निर्णय आँफै गर्न नसकेर वीपीको नामको सहारा खोजेको आरोप लगाए । आफूलाई जहाँ चाहिन्छ, त्यहाँ वीपी कोईरालालाई प्रयोग गर्ने प्रवृत्तिले वीपीको वास्तविक विचारलाई कमजोर बनाउने उनको भनाइ छ ।
बीपी कोईराला र गणेशमान सिंहलाई कुनै परिवार वा सिमित समूहभित्र मात्र सिमित गर्न नहुने उनले बताए । वीपीको आह्वानमा आफ्नो परिवार र व्यक्तिगत जीवन त्यागेर राजनीतिक आन्दोलनमा होमिएका पुरानो पुस्ताका अभियन्ताहरूले लेख्ने पुस्तक, दिने अभिव्यक्ति र सुनाउने अनुभवले वीपीको वास्तविक विचार र राजनीतिक यात्रालाई बुझ्न महत्वपूर्ण भुमिका खेल्ने उनले बताए ।
वीपीको राजनीतिक जीवन लामो र निरन्तर विकसित भएको उल्लेख गर्दै उहाँले लोकतन्त्र र सामाजिक न्यायप्रतिको वीपीको मूल प्रतिवद्धता कहिल्यै परिवर्तन नभएको बताए । आर्थिक विकासका विषयमा पनि वीपीका विचारलाई एउटै प्रसंगमा सिमित गर्न नहुने उनको भनाइ छ । उत्पादन, ग्रामीण विकास, साना उद्योग र प्रविधिको प्रयोगबारे वीपीले फरक समयमा राखेका धारणालाई अहिलेको विकास बहस र कृत्रिम बुद्धिमत्ता (एआई) को सन्दर्भसँग समेत जोडेर अध्ययन गर्न सकिने उनले बताए ।


प्रतिक्रिया दिनुहोस्