काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । ।
साउन १२ गते नेपाली कांग्रेसले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री आचार्यले अन्य दलको समर्थन जुटाएर विश्वासको मत लिन लागेका हुन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ बिच ७ ओटै प्रदेशमा सत्ता गठबन्धन गर्ने गरी सहमति भएपछि तत्कालीन सत्ता साझेदार नेपाली कांग्रेसले प्रदेशका मन्त्रीहरूलाई फिर्ता बोलाएको थियो ।
मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि सरकार विस्तार र मन्त्रालय बाँडफाँट टुङ्ग्याउने तयारी गरिएको छ ।
एमाले र नेकपाबिच लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमालेले गर्ने र आचार्यलाई नै मुख्यमन्त्रीमा निरन्तरता दिने सहमति भएको थियो । नयाँ सत्तासमिकरणमा जनमोर्चा सहित लोसपा र जसपा समेत सहभागी भएका छन्।
लुम्बिनी प्रदेश सभामा ८७ जना संसद् संख्या भए पनि ४ जनाले राजीनामा दिएर गत फागुन २१ गतेको निर्वाचनमा भाग लिन गएपछि ८३ जना बाँकी छन् ।
प्रदेश सभामा बहुमतका लागि आचार्यलाई ४२ सांसद आवश्यक पर्ने छ ।


प्रतिक्रिया दिनुहोस्