तीन युवा मिलेर सञ्चालनमा ल्याए ‘गन्तव्य कुरिएर सर्भिस प्रा.लि.’


काठमाडौँ । तीन युवा मिलेर ‘गन्तव्य कुरिएर सर्भिस प्रा.लि.’ सञ्चालनमा ल्याएका छन्।

काठमाडौँको सामाखुसी–टाउनप्लानिङमा कार्यालय स्थापना गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुरिएर तथा कार्गो सेवा दिने उद्देश्यसहित कम्पनीले औपचारिक रूपमा सेवा सुरु गरेको हो ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील गोपाल चन्द, लामो समयदेखि सूचना प्रविधिको क्षेत्रमा कार्यरत तिलक केसी र स्नातकोत्तर तहमा अध्ययनरत रामकुमार डाँगीले संयुक्त रूपमा कम्पनी स्थापना गरेका हुन् ।

लामो समयदेखि पत्रकारितामा समेत सक्रिय रहेका कम्पनीका अध्यक्ष गोपाल चन्दले नेपालमै केही गर्ने उद्देश्यले व्यवसाय सुरु गरिएको बताए । “हामी तीन जना युवाले विदेश जानेभन्दा आफ्नै देशमा सम्भावना खोजेर केही गर्नुपर्छ भन्ने सोचका साथ गन्तव्य कुरिएर सुरु गरेका हौं,” उनले भने, “सुरुवात सानो भए पनि हाम्रो लक्ष्य राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विश्वसनीय कुरिएर कम्पनी बनाउने हो ।”

सूचना प्रविधिको अनुभव बोकेका कम्पनीका सञ्चालक समिति सदस्य तिलक केसीले प्रविधिको प्रयोगमार्फत सेवाग्राहीलाई सहज र भरपर्दो सेवा दिने बताए । “आजको डिजिटल युगमा कुरिएर सेवा अत्यावश्यक बन्दै गएको छ । ग्राहकलाई कार्यालयसम्म बोलाउनेभन्दा पनि घरदैलोमै पुगेर सेवा दिने हाम्रो मुख्य लक्ष्य हो,” उनले भने।

स्नातकोत्तर अध्ययनरत संचालक समितिका सदस्य रामकुमार डँगीले युवाहरूले रोजगारी खोज्ने मात्र नभई रोजगारी सिर्जना गर्ने दिशामा पनि अघि बढ्नुपर्ने बताए । “हामीले एउटा व्यवसाय मात्र सुरु गरेका होइनौं, नेपालमै बसेर युवाले केही गर्न सक्छन् भन्ने उदाहरण पनि बन्न चाहन्छौं,” उनले भने।

गन्तव्य कुरिएरले नेपालका विभिन्न स्थानमा कागजात, पार्सल तथा व्यावसायिक सामग्री पु¥याउनुका साथै अन्तर्राष्ट्रिय कुरिएर तथा कार्गो सेवा सञ्चालन गर्ने जनाएको छ । आगामी दिनमा देशका विभिन्न स्थानमा सेवा सञ्जाल विस्तार गर्दै रोजगारीका अवसरसमेत सिर्जना गर्ने कम्पनीको योजना छ ।