काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको नीति, नियम, विधान र घोषणापत्रविपरीत काम गर्ने स्थानीय तहका जनप्रतिनिधिलाई फिर्ता बोलाउने चेतावनी दिएका छन् ।
पार्टी मुख्यालय सानेपामा ‘हामी तयार छौँ’ अभियानअन्तर्गत स्थानीय तहका जनप्रतिनिधिका लागि आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीबाट उम्मेदवार बनेर निर्वाचनमा जाने व्यक्तिले टिकट लिँदै गर्दा पार्टीको नीति, नियम र अनुशासन पालना गर्ने प्रतिबद्धता जनाउनुपर्ने बताए ।
उनका अनुसार पार्टीको विधानविपरीत काम गर्ने तथा आर्थिक अनियमिततामा संलग्न हुने जनप्रतिनिधिलाई पदबाट हटाउनेसम्मको व्यवस्था गरिनेछ । उम्मेदवारले टिकट लिने क्रममा नै पार्टीको निगरानी र निर्देशनअनुसार काम गर्ने प्रतिबद्धतासमेत लिखित रूपमा जनाउनुपर्नेछ ।
थापाले स्थानीय सरकार सञ्चालनलाई प्रभावकारी बनाउन पार्टीले गभर्नेन्स इन्स्टिच्युट स्थापना गरेको जानकारी दिए । उक्त संस्थाले निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकालभरि कामको अनुगमन, मूल्यांकन तथा सहजीकरण गर्नेछ ।
निर्वाचनअघि पार्टीले तयार पारेको घोषणापत्र कार्यान्वयन गराउने र जनप्रतिनिधिलाई पार्टीसँग निरन्तर जोडेर राख्ने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको उनको भनाइ छ ।
यसअघि निर्वाचनका बेला घोषणापत्र तयार गर्ने तर निर्वाचनपछि जनप्रतिनिधि पार्टीसँग सम्पर्कविहीन हुने प्रवृत्ति रहेको उल्लेख गर्दै थापाले अब त्यस्तो अभ्यास अन्त्य गरिने बताए । निर्वाचित जनप्रतिनिधिले आफ्नो कार्यकालभरि गभर्नेन्स इन्स्टिच्युटको सहकार्य र निगरानीमा रहेर काम गर्नुपर्ने उनले स्पष्ट पारे ।
७५३ पालिकामध्ये केहीमा प्रारम्भिक सर्वेक्षण
सभापति थापाले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै पार्टीको निर्वाचन ब्युरोले देशभरका ७५३ स्थानीय तहमध्ये केही पालिकामा प्रारम्भिक सर्वेक्षण गरिसकेको जानकारी दिए ।
उपसभापति पुष्पा भुसालको नेतृत्वमा रहेको निर्वाचन ब्युरोले वैज्ञानिक विधि र तथ्यांकमा आधारित अध्ययन गरिरहेको उनले बताए ।
सर्वेक्षणमार्फत कुन पालिकामा कांग्रेसको अवस्था कस्तो छ, कुन समुदाय र उमेर समूहमा पार्टीको प्रभाव बढी छ तथा महिला उम्मेदवारको जित्ने सम्भावना कुन क्षेत्रमा बलियो छ भन्ने विषय पहिचान गरिरहेको उनको भनाइ छ ।
निर्वाचन ब्युरोमा राजनीतिक नेतृत्वसँगै निर्वाचन, तथ्यांक, अनुसन्धान तथा अन्तर्राष्ट्रिय निर्वाचनको अनुभव भएका विज्ञहरू सहभागी रहेको पनि थापाले बताए ।
उनका अनुसार उम्मेदवार छनोट गर्दा जित्ने सम्भावनालाई समेत आधार बनाइनेछ । विशेषगरी महिला उम्मेदवारलाई अवसर दिने विषयमा सम्भाव्यता अध्ययन भइरहेको छ ।
उम्मेदवार छनोटमा तल्लो तहका सदस्यलाई बढी अधिकार
थापाले आगामी स्थानीय निर्वाचनमा उम्मेदवार छनोट प्रक्रियामा पार्टीका क्रियाशील सदस्य र तल्लो तहका कमिटीलाई बढी अधिकार दिइने बताए ।
उनका अनुसार सम्बन्धित पालिकाका क्रियाशील सदस्यले डिजिटल प्रणालीमार्फत आफूले मेयर, वडाध्यक्षलगायत पदमा देख्न चाहेको उम्मेदवार छनोट गर्न पाउनेछन् । सदस्यहरूले गरेको छनोटको विवरण पार्टीको केन्द्रीय डिजिटल प्रणालीमा पुग्नेछ ।
तर, कसले कसलाई छनोट गर्यो भन्ने व्यक्तिगत विवरण भने गोप्य राखिने उनले स्पष्ट पारे ।
सदस्यहरूको छनोटपछि सम्बन्धित नगर कार्यसमितिले उम्मेदवारहरूको मूल्यांकन गर्नेछ भने अन्तिम निर्णयका लागि पार्टीले तोकेको निकायले प्रक्रिया अघि बढाउनेछ ।
यसअघि वडा तहको टिकट क्षेत्रीय समितिले, पालिकाको टिकट जिल्ला समितिले र मेयरको टिकट प्रदेश समितिले वितरण गर्ने अभ्यास रहेकोमा अब त्यसलाई परिवर्तन गरिने थापाको भनाइ छ ।
उनले उम्मेदवार छनोटमा पार्टीको तल्लो तहका सदस्य र कमिटीहरूको भूमिका महत्वपूर्ण हुने बताए ।
केन्द्रबाट स्थानीय निर्वाचन निर्देशिका बनाइने
स्थानीय तहका उम्मेदवार छनोटको विस्तृत प्रक्रिया भने पार्टीको केन्द्रीय समितिले तय गर्नेछ ।
थापाका अनुसार आगामी केन्द्रीय समिति बैठकबाट स्थानीय निर्वाचनसम्बन्धी निर्देशिका तयार गरिनेछ । उक्त निर्देशिकाले कुन तहले कसरी उम्मेदवार छनोट गर्ने, कुन निकायले मूल्यांकन गर्ने र अन्तिम निर्णय कसरी गर्ने भन्ने विषय स्पष्ट पार्नेछ ।
कांग्रेसले आगामी स्थानीय निर्वाचनमा उम्मेदवार छनोटदेखि निर्वाचित जनप्रतिनिधिको कार्यसम्पादनसम्म पार्टीको संस्थागत निगरानी र तल्लो तहका सदस्यहरूको सहभागिता सुनिश्चित गर्ने रणनीति अघि सारेको देखिन्छ ।


प्रतिक्रिया दिनुहोस्