सुझाब माग्दै सेबोनद्वारा मार्जिन ऋण कारोबार नियमावलीको मस्यौदा सार्वजनिक


काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले मार्जिन ऋण कारोबार (मार्जिन लेन्डिङ्ग) नियमावलीको मस्यौदा सार्वजनिक गर्दै सुझाव माग गरेको छ ।

पुँजी बजारले संस्थागत विकास, विद्युतीय कारोबार प्रणाली तथा लगानीकर्ता आधार विस्तारका क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरिसकेको भए पनि बजारको गुणात्मक विकासका लागि नयाँ चरणमा प्रवेश गर्न आवश्यक रहेको बोर्डको निष्कर्ष छ ।

सोही लक्ष्यअनुसार बोर्डले मार्जिन लेन्डिङ्ग, इन्ट्राडे कारोबार, धितोपत्र सापटी तथा उधारो, र आवरणयुक्त शर्ट सेलिङ्ग जस्ता आधुनिक वित्तीय उपकरण तथा प्रणाली कार्यान्वयनको तयारी अघि बढाएको छ ।

बोर्डका अनुसार सुधार योजनाको पहिलो चरण अन्तर्गत तयार गरिएको मार्जिन लेन्डिङ्ग संरचनाले योग्य लगानीकर्तालाई आफ्नै पुँजी (इक्विटी मार्जिन) तथा धितोपत्र दलाल व्यवसायीमार्फत ऋण लिएर लगानी गर्ने अवसर प्रदान गर्ने । यसले लगानीकर्ताको बजार पहुँच विस्तार गर्नुका साथै कारोबारको दायरा र तरलता बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नियमावलीको मस्यौदा बोर्ड, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसी) तथा स्टक ब्रोकर एसोसिएसन अफ नेपालका प्रतिनिधि सम्मिलित धितोपत्रको दोस्रो बजार सुधार योजना कार्यान्वयन समन्वय तथा सहजीकरण समितिमा विस्तृत छलफलपछि आवश्यक परिमार्जनसहित तयार बोर्डले जनाएको छ ।

बोर्डले सरोकारवाला पक्षबाट प्राप्त सुझाव तथा रायलाई अध्ययन गरी नियमावलीलाई अन्तिम रूप दिने जनाएको छ । यसका लागि लगानीकर्ता, धितोपत्र व्यवसायी तथा सम्बन्धित सबै सरोकारवालालाई आफ्नो सुझाव [email protected] इमेलमार्फत उपलब्ध गराउन आग्रह गरिएको छ।

नेपालको पूँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी तथा अन्तर्राष्ट्रिय अभ्यास अनुरूप विकास गर्ने उद्देश्यसहित नियमावली ल्याउन लागिएको बोर्डको भनाई छ ।

बजार विज्ञहरूले मार्जिन लेन्डिङ्ग व्यवस्था कार्यान्वयनमा आएपछि पूँजी बजार थप गतिशील, तरल र अन्तर्राष्ट्रिय अभ्यास अनुरूप हुने विश्वास व्यक्त गरेका छन् । साथै यसले लगानीकर्तालाई थप लगानी अवसर उपलब्ध गराउनुका साथै नेपालको पूँजी बजार सुधार अभियानलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको बोर्डले जनाएको छ ।