काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र मन्त्री फेरबदल गर्ने कुनै तयारी नरहेको स्पष्ट पारेका छन् ।
बुधबार सिंहदरबारमा संसदीय दलको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
मन्त्रीहरुको कार्यक्षमतालाई लिएर केही प्रश्न उठेका भएपनि अहिले नै मन्त्री फेरबदल गर्ने पक्षमा आफूहरु नरहेको उनले बताए । उनले सरकारलाई प्रश्न गर्ने अधिकार सबैसँग रहेको र रास्वपाका सांसदहरुले पनि प्रश्न सोध्ने गरेको उल्लेख गरे । त्यसलाई मन्त्री परिवर्तनसँग जोडेर हेर्न नहुने उनको भनाइ छ ।
रास्वपाभित्र प्रश्न गर्ने र त्यसको जवाफ खोज्ने परिपाटी रहेको उनको दाबी छ । सभापति लामिछानेले आफू र प्रधानमन्त्री बालेन्द्र शाहबिच कुनै मतभेद वा विवाद नरहेको पनि बताए । उनले दुई नेताबिच विवाद रहेको समाचारले आफूहरूलाई झन् नजिक ल्याउने टिप्पणी गरे।
उनले प्रधानमन्त्री साहले सामाजिक सञ्जालमा ‘एक्लै लडिरहेको छु’ भनेर लेखेका विषयलाई राजनीतिक अर्थमा व्याख्या गर्न नहुने पनि बताए । प्रधानमन्त्री कलाकार र कवि पनि भएकाले उहाँको अभिव्यक्तिका प्रत्येक शब्दमा राजनीतिक अर्थ खोज्न आवश्यक नरहेको उनको भनाइ छ । उनले सिङ्गो पार्टी प्रधानमन्त्रीसँगै उभिएको जिकिर गरे ।
उनले केन्द्रिय समितिलाई पूर्णता दिने प्रक्रिया पनि तत्काल सम्पन्न गर्नुपर्ने विषय नभएको बताए । उनले पाँच वर्षभित्र क्रमशः अघि बढाउने कार्ययोजना रहेको जानकारी दिए । महाधिवेशनपछि पार्टीभित्रको समायोजन प्रक्रिया सकिसकेकोले विधानले सभापतिलाई दिएको अधिकारअनुसार योग्य व्यक्तिहरूलाई क्रमशः जिम्मेवारीमा ल्याउने उनको भनाइ छ ।
उनले रास्वपाभित्र दुई धार वा गुट रहेको भन्ने दाबीलाई पनि अस्वीकार गरे । उनले पार्टीभित्र कुनै गुट नरहेको दाबी गरे । उनले आफ्नो र प्रधानमन्त्री शाहबिचको सम्बन्ध व्यक्तिगत बाचा नभई देश र इतिहासप्रतिको साझा प्रतिवद्धता भएको बताए । उनले देशको भविष्य र इतिहासप्रति जिम्मेवार भएर सरकारले काम गरिरहेको दाबी गरे । सामान्य घटनालाई लिएर राजनीतिक सम्बन्ध बिग्रिएको निष्कर्ष निकाल्नु उचित नहुने उनको भनाइ छ ।
उनले सरकारले राम्रोसँग काम गरिरहेपनि व्यवस्थापनमा केही कमजोरी देखिएको बताए । ग्यासमा हाल देखिएको अभावलाई सरकारको असफलतासँग जोडेर हेर्न नहुने उनको भनाइ छ । राम्रो काम गर्दागर्दै पनि कहिलेकाही समस्या देखिने गरेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस्