काठमाडौं । नेपाल सेयर बजार लगानीकर्ता संघले बेनी सेक्युरिटिज प्रा. लि. (ब्रोकर नं. ९३) लाई तीन कार्यदिनका लागि निलम्बन गर्ने नेपाल स्टक एक्सचेन्ज (नेप्से) को निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ ।
संघले ब्रोकरलाई गरिएको कारबाहीको प्रत्यक्ष असर निर्दोष ग्राहक लगानीकर्तामाथि परेको भन्दै तत्काल कारोबार फुकुवा गर्न वा वैकल्पिक व्यवस्था गर्न माग गरेको हो।
नेप्सेले सिडिएस एण्ड क्लियरिङ लिमिटेड (सिडिएससी) कोे सिफारिसका आधारमा हिजो (बुधबार) बेनी सेक्युरिटिजलाई धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५ को विनियम २२(१)(छ) बमोजिम निलम्बन गरेको थियो ।
संघका महासचिव रवीन कडेलद्वारा जारी प्रेस विज्ञप्तिमा सिडिएससीको सिफारिस र नेप्सेको निलम्बन पत्र दुवै एकै दिन जारी भएको विषयमा समेत प्रश्न उठाइएको छ ।
निर्णयबाट प्रत्यक्ष प्रभावित हुने हजारौँ ग्राहक लगानीकर्ताको हित, कारोबारको निरन्तरता तथा उनीहरूको सम्पत्ति सुरक्षाबारे पर्याप्त विचार नगरी हतारमा निर्णय गरिएको देखिएको संघको दाबी छ ।
निलम्बन अवधिमा ग्राहकको रकम तथा सेयरको सुरक्षा कसरी गरिने, चालु राफसाफमा रहेका कारोबारको फछ्यौट कसरी हुनेछ र ग्राहकका लागि वैकल्पिक कारोबारको व्यवस्था के हुनेछ भन्ने विषयमा नेप्सेको पत्र मौन रहेको संघले जनाएको छ ।
संघले ब्रोकरले तोकिएको समयमा राफसाफ तथा फछ्यौट गर्न नसक्नुको वास्तविक कारणसमेत सार्वजनिक गर्न माग गरेको छ। ग्राहक रकमको दुरुपयोग भएको भए त्यसलाई सामान्य नियामकीय कारबाहीबाट मात्र टुंग्याउन नहुने भन्दै स्वतन्त्र अनुसन्धान गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्नुपर्ने संघको माग छ ।
बजार घटिरहेको समयमा सेयर बेच्न नपाउनु वा अवसरका बेला सेयर खरिद गर्न नपाउनुबाट लगानीकर्तालाई प्रत्यक्ष आर्थिक क्षति हुन सक्ने भन्दै संघले ब्रोकरको गल्तीको सजाय निर्दोष ग्राहकले भोग्नुपर्ने अवस्था न्यायोचित नभएको बताएको छ ।
संघले ग्राहक लगानीकर्ताको कारोबार तत्काल फुकुवा गर्न वा ग्राहकको सम्पत्ति र कारोबारमा असर नपर्ने गरी ब्रोकर स्थानान्तरण तथा वैकल्पिक कारोबारको स्पष्ट कार्यविधि तत्काल सार्वजनिक गर्न सम्बन्धित निकायसँग माग गरेको छ ।
त्यस्तै, राफसाफ तथा फछ्यौटमा त्रुटि गर्ने ब्रोकर कम्पनी र जिम्मेवार पदाधिकारीमाथि लक्षित स्वतन्त्र अनुसन्धान गर्न, निलम्बन अवधिमा ग्राहकको रकम, सेयर तथा चालु राफसाफको सुरक्षाबारे नेप्से र सिडिएससीबाट तत्काल आधिकारिक स्पष्टोक्ति जारी गर्न पनि संघले माग गरेको छ ।
भविष्यमा कुनै ब्रोकरको समस्याका कारण निर्दोष लगानीकर्ताको कारोबार प्रभावित नहोस् भन्नका लागि ग्राहक खाता छुट्याउने कडा व्यवस्था, तत्काल ब्रोकर स्थानान्तरण संयन्त्र तथा क्षतिपूर्ति कोषको प्रभावकारी परिचालनसहित संरचनागत सुधार आवश्यक रहेको संघको भनाइ छ ।
संघले ब्रोकरको कारबाहीका कारण लगानीकर्ताको कारोबार नै रोकिँदा पुँजी बजारप्रतिको विश्वासमा असर पर्न सक्ने चेतावनी दिँदै “दोषीलाई कारबाही गरियोस्, निर्दोषलाई सजाय नदिइयोस्” विज्ञप्तीमा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्