अन्तर्राष्ट्रिय पर्यटकका लागि नेपालमा डिजिटल भुक्तानी सहज बनाउन ‘मास्टरकार्ड’ र ‘मोको’बिच सहकार्य


काठमाडाैँ । नेपाल भ्रमणमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि डिजिटल भुक्तानी प्रक्रियालाई सहज र सुरक्षित बनाउन मास्टरकार्डले नेपालमा आफ्नो ‘पे लोकल’ सेवा शुरु गरेको छ ।

यस पहलका लागि मास्टरकार्डले नेपालको अग्रणी डिजिटल वालेट तथा एकीकृत क्युआर भुक्तानी प्लेटफर्म ‘मोको’ सँग सहकार्य गरेको हो । यस नवीन सेवाअन्तर्गत, विदेशी पर्यटकहरूले अब आफ्नो मास्टरकार्डलाई ‘मोको ट्राभल एप’मा आवद्ध गरी नेपालभरका ‘नेपालपे’ र ‘फोनपे’ क्युआर मर्चेन्टहरूमा सहजै भुक्तानी गर्न सक्नेछन् ।

यो एप एप्पल एप स्टोर र गुगल प्ले स्टोर दुवैमा उपलब्ध छ । मास्टरकार्डको ग्लोबल ‘पे लोकल’ सेवाले उपभोक्ताहरूलाई आफ्नो डेबिट वा क्रेडिट कार्ड डिजिटल वालेटमा लिंक गरी भुक्तानी गर्ने सुविधा प्रदान गर्दछ । यसबाट पर्यटकहरूले नगद बोक्नुपर्ने, मुद्रा सटही गर्नुपर्ने वा प्रिपेड खाताहरूमा रकम जम्मा गरिरहनुपर्ने झन्झटबाट मुक्ति पाउनेछन् । 

होटल, रेस्टुरेण्ट, खुद्रा पसल, स्थानीय बजार र अन्य पर्यटकीय व्यवसायहरूमा यो सेवा उपलब्ध हुने भएकाले पर्यटकहरूले झन्झटरहित डिजिटल भुक्तानीको अनुभव लिन सक्नेछन् । साथै, स्थानीय व्यवसायीहरूले पनि आफ्नो विद्यमान क्युआर पूर्वाधारमार्फत अन्तर्राष्ट्रिय ग्राहकहरूलाई सेवा प्रदान गरी नेपालको बढ्दो पर्यटन क्षेत्रबाट लाभ लिन सक्नेछन् ।

साझेदारीका बारेमा बोल्दै मास्टरकार्डका कन्ट्री म्यानेजर (श्रीलंका, माल्दिभ्स, बंगलादेश, भूटान र नेपाल) सन्दुन हापुगोडाले भने, “अन्तर्राष्ट्रिय पर्यटकहरूले यात्राका क्रममा पनि सहज, सुरक्षित र सुविधाजनक भुक्तानीको अपेक्षा गर्दछन् । मोकोमा उपलब्ध मास्टरकार्ड ‘पे लोकल’ सेवामार्फत पर्यटकहरूले आफूसँग भएकै कार्ड नेपालको वृहत क्युआर इकोसिस्टममा प्रयोग गर्न सक्नेछन् । यसले पर्यटकलाई भुक्तानीको चिन्ता नगरी यात्राको आनन्द लिन सघाउनेछ भने स्थानीय व्यवसायका लागि नयाँ अवसरहरू सिर्जना गर्नेछ ।”

मास्टरकार्डले एशियाली क्षेत्रमा डिजिटल भुक्तानीको पहुँच विस्तार गर्ने उद्देश्य अनुरूप यसअघि चीन, इण्डोनेसिया, मलेसिया, कम्बोडिया र श्रीलंकामा यो सेवा सफलतापूर्वक लागू गरिसकेको छ । फोकसवान पेमेन्ट सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारीले मास्टरकार्डसँगको सहकार्यप्रति खुशी व्यक्त गरे ।

उनले भने, “नेपाल आउने पर्यटकहरूको भुक्तानी अनुभवलाई परिष्कृत गर्न मास्टरकार्डसँग सहकार्य गर्न पाउँदा हामी गौरवान्वित छौँ । हाम्रो ट्राभल एपमार्फत विदेशी पर्यटकहरूले नेपालको क्युआर भुक्तानी प्रणालीमा सहज पहुँच पाउनेछन्, जसले स्थानीय मर्चेन्टहरूलाई समेत सहयोग पुग्नेछ ।”

विश्वका २०० भन्दा बढी देशमा सञ्जाल रहेको मास्टरकार्डले सुरक्षित, सरल र स्मार्ट प्रविधिमार्फत डिजिटल भुक्तानीलाई प्रवद्र्धन गर्दै अर्थतन्त्रलाई सुदृढ बनाउन महत्वपूर्ण भुमिका खेल्दै आएको छ ।