साउनकाे सेयर काराेबारमा जलविद्युत् कम्पनी कै दबदबा, लगानीकर्ताको आर्कषण सानिगाड र रिडी पावरमा


काठमाडौं । गत साउन महिनाको सेयर कारोबारमा लगानीकर्ताको आर्कषणमा सानिगाड हाइड्रपावर लिमिटेड रह्यो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार पछिल्लो एक महिनाको अवधिमा सानीगाड हाइड्रोको सेयर सबैभन्दा धेरै ५९ हजार ३७७ पटक कारोबार भएको थियो ।

कारोबार संख्याका आधारमा दोस्रो स्थानमा सोलु हाइड्रोपावर लिमिटेड रहेको छ । यसको ३८ हजार ३१६ पटक कारोबार भएको नेप्सेको तथ्यांकमा उल्लेख छ ।

त्यस्तै, कालंगा हाइड्रो लिमिटेडको ३८ हजार १७५ पटक, एभरेस्ट कलर लिमिटेड को ३२ हजार ११५ पटक र तामाकोशी पिखुवा खोला हाइड्रोपावर लिमिटे को २४ हजार ५४३ पटक कारोबार भएको छ ।

कारोबार संख्याका आधारमा शीर्ष १० कम्पनीमा रिडी पावर कम्पनी २३ हजार ८२७ कारोबारसहित छैटौँ स्थानमा छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकको २२ हजार ९९४, सोपान फर्मास्युटिकल्सको २२ हजार ६२९, रिलायन्स स्पिनिङ मिल्सको १९ हजार १३२ र याम्बालिङ हाइड्रोपावरको १८ हजार ७०५ पटक कारोबार भएको छ ।

कारोबारमा रिडी पावर अगाडी

कारोबार भएका सेयर संख्याका आधारमा भने रिडी पावर कम्पनी लिमिटेड शीर्ष स्थानमा छ। उक्त अवधिमा रिडी पावरका करिब १ करोड ३५ लाख ५८ हजार कित्ता सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

यस सूचीमा अंखु खोला जलविद्युत् कम्पनी ८३ लाख ९८ हजार कित्ता शेयर कारोबारसहित दोस्रो स्थानमा छ। खनिखोला हाइड्रोपावरको ७४ लाख ५५ हजार कित्ता, कुमारी बैंकको ७१ लाख ४१ हजार कित्ता र नेसनल हाइड्रो पावर कम्पनीको ६९ लाख ८३ हजार कित्ता शेयर कारोबार भएको छ ।
त्यस्तै, ग्लोबल आइएमई बैंकको ६२ लाख ४७ हजार कित्ता, सोलु हाइड्रोपावरको ५६ लाख ४२ हजार कित्ता, अपि पावर कम्पनीको ३६ लाख ७१ हजार कित्ता, सेन्ट्रल फाइनान्सको ३६ लाख ६४ हजार कित्ता र लिबर्टी इनर्जी कम्पनीको ३५ लाख ५३ हजार कित्ता सेयर कारोबार भएको छ ।

जलविद्युत् कम्पनी कै दबदबा

नेप्सेको साउन महिनाको तथ्यांक हेर्दा कारोबार संख्याका आधारमा शीर्ष स्थानमा अधिकांश जलविद्युत् क्षेत्रकै कम्पनीहरु रहेका छन् । सेयरको कुल कारोबार परिमाणमा पनि जलविद्युत् कम्पनीहरुनै अगाडी रहेका छन् ।

यसले पछिल्लो अवधिमा साना तथा मध्यम आकारका जलविद्युत् कम्पनीका सेयरमा लगानीकर्ताको कारोबार सक्रिय रहेको देखिन्छ ।