बारा । तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाको विरोधमा जीतपुरसिमरा उपमहानगरपालिकामा बिहीबार पनि प्रदर्शन जारी छ।
आक्रोशित स्थानीयले टायर बालेर सिमरा–डुमरवाना, पिलुवा–वडहर्वा, सिमरा–जीतपुर र पथलैया–सिमरा सडकखण्ड ठप्प पारेका छन्। बुधबारदेखि वीरगञ्ज–पथलैया सडकखण्डसमेत अवरुद्ध छ।
तीन बर्षिया बालिकामाथि भएको क्रुर घटनाबाट सम्पूर्ण शैक्षिक क्षेत्र स्तब्ध भएको भन्दै निजी तथा सामुदायिक विद्यालयहरूले घटनाको विरोधमा उपमहानगरभित्रका निजी तथा सामुदायिक विद्यालयले शोकसभा गर्दै विद्यालय बन्द गरेका छन्। विद्यालयहरूले दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन्।
गरिमा हराएकोबारे उनका बुबाले समयमै इलाका प्रहरी कार्यालय सिमरामा जाहेरी दिए पनि प्रहरीले खोजीमा गम्भीरता नदेखाएको स्थानीयको आरोप छ। उनीहरूले इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज डीएसपी दिलिप क्षेत्रीलाई कारबाही गर्न माग गर्दै कार्यालय घेराउ गरेका छन्।
बारा प्रशासनले भने आन्दोलनरत पक्षका मागबारे छलफल भइरहेको जनाएको छ। प्रशासनले आन्दोलनरत पक्षको माग सम्बोधन गर्ने विषयमा आफूहरु सकारात्मक रहेको र छलफलको प्रयास भइरहेको जनाएको छ। आन्दोलनरत पक्षसँग बिहीबार निर्णायक वार्ता गर्ने तयारी रहेको छ ।


प्रतिक्रिया दिनुहोस्